काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ। 

बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपुँजी रकमबराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको निष्कासन गर्न लागेको हो। यो ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ। 

वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु. १००० दरमा किन्न पाइनेछ। ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ।

कुल निष्कासन हुने ७ लाख ५० हजार इकाइमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। 

बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने नागरिक लगानी कोषसँग यसअघि नै डिबेन्चर प्रत्याभूतसम्बन्धी सम्झौतासमेत भइसकेको छ।