काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ७५ करोड रुपैयाँको ऋणपत्रमा आवेदन दिन आज (असार २० गते) अन्तिम दिन रहेको छ। 

बैंकले गत असार ६ गतेदेखि ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको निष्कासन गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। 

बैंकले १ हजार अंकित दरका कुल निष्कासन ७ लाख ५० हजार इकाइ निष्कासन गरेको छ। जसमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको छ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। 

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ।

दस वर्षे यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।