Jo Cox
उत्तरी ब्रिटेनमा एक जना सांसदको हत्या गरिएपछि युरोपियन युनियनमा आवद्धताबारे निर्णय गर्न आह्वान गरिएको जनमतसंग्रहको चुनावी अभियान ब्रिटेनमा स्थगित गरिएको छ।
पश्चिम योर्कशरमा आफ्ना मतदातासँग भेटन गएकाबेला लेबर पार्टीकी सांसद जो कक्सको हत्या भएको थियो।
२५ वर्षयता पहिलोपटक भएको बहालवाला सांसदको हत्याले समग्र ब्रिटेनलाई स्तब्ध तुल्याएको छ।
उक्त हत्यापछि युरोपेली युनियनमा ब्रिटेनको आवद्धताबारे निर्णय गर्न अर्को हप्ता हुन लागेको जनमत संग्रको प्रचार अभियान स्थगित गरिएको छ।
लेबर पार्टीकी सांसद जो कक्सलाई पश्चिम योर्कसरको ब्रिस्टलमा आफ्ना मतदाताहरुसँग भेट गर्ने कार्यक्रममा सहभागी भइरहँदा एउटा पुस्ताकालय बाहिर गोली र धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
हत्याको आरोपमा एक जना ५२ वर्षीय व्यक्तिलाई गिरफ्तार गरिएको छ।
प्रहरीले आक्रमणको उद्देश्यबारे छानविन गरिरहेको छ।
प्रत्यक्षदर्शीले अक्रमणकारीले ‘ब्रिटेन पहिले’ भनेर चिच्याएको सुनेको बताएका छन्।
उसले बन्दुक र छुरी जस्तो देखिने धारिलो हतियारले पटक पटक कक्सलाई अक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
सो व्यक्तिलाई ब्रिस्टल नजिकैको माक्रेट स्ट्रिटबाट गिरफ्तार गरिएको थियो।
जो कक्स ब्रिटेन इयुमा नै रहिरहनुपर्छ भन्ने अभियानको समर्थक थिइन र सिरियाली शरणार्थीको पक्षमा वकालत गर्ने अग्रणी व्यक्ति थिइन्।
उनको निधनमा प्रधानमन्त्री डेविड क्यामरन, विपक्षी नेता जेरेमी कोरबीन र अमेरिकी विदेशमन्त्री जन केरीले श्रद्धान्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री डेविड क्यामरनले उनी आफ्ना अभियानमा दृढ संकल्पित लोकप्रिय सांसद भएको बताउँदै भने, “उनको हृदय विशाल थियो, उनी संसद र आफ्नो निर्वाचन क्षेत्र दुवैका लागि चम्किलो तारा जस्तै थिइन्।”
लेबर पार्टिका नेता जेरेमी कोरबीनले सार्वजनिक सेवा र मानवताप्रति उनले आफ्नो जीवनभर गहिरो प्रतिबद्धता जनाएको धारणा राखे।
कक्सका श्रीमान ब्रेन्डनले मानिसहरुलाई उनको हत्यामा जिम्वेवार घृणाविरुद्ध एकजुट भएर लड्न आग्रह गरे।
उनी मारिएको स्थान ब्रिस्टलमा कक्सको सम्झनामा स्मृतिसभा गरिएको छ।
आक्रमणका कारण ब्रिटेन इयुमा नै रहनुपर्ने वा ब्रिटेनले इयु छाड्नुपर्ने विषयमा हुन लागेको जनमतसंग्रहको जारी अभियान स्थगित गरिएको छ।
यसअघि सन् १९९० मा उत्तरी आयरलण्डका आतंकवादी समूहको आक्रमणमा सांसद इयान गोले ज्यान गुमाएका थिए।
कक्सका सयौँ समर्थक तथा साथीहरुले ब्रिस्टलस्थित सेन्ट पिटर्स गिर्जाघरमा जम्मा भएर उनी प्रति श्रद्धान्जली दिएका छन्।
बकिङ्घम दरबारका प्रवक्ताले महारानीले कक्सका श्रीमानलाई व्यक्तिगत समवेदना सन्देश पठाउने जनाएका छन्।
बीबीसीबाट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19