काठमाण्डौ । गत आर्थिक वर्ष २०७९–८०मा नेपाल सरकारले पुँजीबजारबाट अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा ७० प्रतिशतले राजस्व गुमाएको छ। 

सरकारले पुँजीबजारबाट अघिल्लो आर्थिक वर्षमा कुल १० अर्ब ३५ करोड ३० लाख ५९ हजार ५१७ रुर्पयाँ राजस्व सँकलन गरेको थियो। तर, गत आर्थिक वर्षमा सेयर बजार पूर्ण रुपमा साइडवेज चल्दा र लगानीकर्ताले घाटामा नै सेयर बेच्दा सरकारले भारी मात्रामा राजस्व गुमाएको हो। 

गत आर्थिक वर्षमा सरकारले पुँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड बराबरमात्रै राजस्व संकलन गरेको छ। यस हिसाबले सरकारले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ७ अर्बभन्दा बढी राजस्व गुमाएको छ।  

सेयर बजारमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ताले बढी पुँजीगत कर तिरेका हुन्छन्। अल्पकालीन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत कर तिर्दै आएका छन्। संस्थागत लगानीकर्ताले हाल १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्। 

सीडीएसीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अल्पकालीन लगानीकर्ताले १ अर्ब ६४ करोडबराबरको पुँजीगत लाभकर तिरेका छन्। बाँकी १ अर्ब ३३ करोड संस्थागत र व्यक्तिगत गरेर दीर्घकालीन लगानीकर्ताले सरकारलाई पुँजीगत कर तिरेका छन्।