काठमाण्डौ । वितरणमुखी बजेटले महंगी बढाउने चर्चा भइरहेको बेला सर्वसाधारणहरुको दैनिकीमा थप महङ्गी थप्ने गरी बिजुली महसुलमा भारि वृद्धि हुने भएको छ । 

विद्युत महसुल निर्धारण आयोगको बिहीबार साँझ बसेको बैठकले साउनदेखि लागू हुने गरी बिजुलीको भाउ प्रति युनिट ३ देखि १४ रुपैयाँसम्म बनाउने सिफारिस गरेको हो । आयोगका एक अधिकारीका अनुसार समग्रमा विद्युत महसुल करिब १९ प्रतिशतले वृद्धि भएको छ । 

थोरै बिजुली उपभोग गर्नेले प्रति युनिट ३ रुपैयाँ र ठूला ग्राहकले १४ रुपैयाँसम्म तिर्नुपर्ने सिफारिस भएको छ । ती अधिकारी अनुसार गत वर्ष पनि विद्युत महसुल बढाउन खोजिएको थियो । समितिले १३ प्रतिशतको दरले महसुलमा वृद्धिको सिफारिस गरे पनि सर्वोच्चमा रिट परेपछि त्यो कार्यान्वयन हुन सकेको थिएन । 

नयाँ महसुल रेटले थोरै बिजुली खपत गर्नेहरु भने समग्रमा लाभान्वित हुने समितिका अधिकारीहरुले दाबी गरेका छन् । उनीहरुका अनुसार सिफारिस गरिएको महसुल दर अनुसार मासिक २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले न्युनतम शुल्क ३० रुपैयाँ र त्यसमा प्रति युनिट ३ रुपैयाँको दरले थप रकम तिर्नुपर्ने हुन्छ । यसको अर्थ, २० युनिट प्रयोगकर्ताले मासिक ९० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि २० युनिटसम्म बिजुली खपत गर्नेले मासिक ८० रुपैयाँ तिरे पुग्थ्यो ।

समितिले गरेको सिफारिस अनुसार ३० युनिटसम्म खपत गर्ने ग्राहकले प्रतियुनिट ७ रुपैयाँ, ५० युनिटसम्म खपत गर्नेले ८.५० रुपैयाँ, १५० युनिटसम्म खपत गर्ने ग्राहकले ११ रुपैयाँ र दुई सय युनिटसम्म खपत गर्नेले प्रतियुनिट १२ रुपैयाँका दरले महसुल तिर्नुपर्ने भएको छ । यस्तै, चार सय युनिटसम्म विद्युत खपत गर्नेले १३ रुपैयाँ र चार सय युनिट भन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताले १४ रुपैयाँ प्रति युनिटका दरले महसुल तिर्नुपर्ने छ । महसुलमा गरिएको वृद्धिपछि नेपाल विद्युत प्राधिकरणको आम्दानीमा ५ अर्ब रुपैयाँ थपिने विश्वास गरिएको छ । प्राधिकरणका अधिकारीहरुले आम्दानी थपिएपछि आगामी दिनमा विद्युत भार कटौतिको समयलाई कम गर्न सकिने र आम्दानी बढेपछि त्यसको मद्धतबाट भारतबाट थप बिजुली आयात गर्न सकिने दाबी गरेका छन् । 

तर उपभोक्तावादी संघसंस्थाहरुले भने चौतर्फी बढिरहेको महंगीलाई थप चर्काउने गरी विद्युत महसुलमा गरिएको वृद्धि तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् । उनीहरुले बढ्दो विद्युत चुहावट नियन्त्रण गर्न नसक्ने प्राधिकरणले अनावश्यक ढंगले ग्राहकलाई महसुलको भार थोपरेको आरोप लगाएका छन् ।