काठमाण्डौ । आगामी साउनदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गरिएको छ । 

धितोपत्र बोर्डले २०७३ माघदेखि ऐच्छिक रुपमा लागूु गरेको आस्वा प्रणाली(धितोपत्र खरीद गर्न चाहने लगानीकर्ताको बैंक खातामा खरीद गर्न चाहेको रकम रोक्का गर्ने प्रणाली)मा हालसम्म सम्पूर्ण वाणिज्य बैंकहरुसहित ५२ बैंक तथा वित्तीय संस्थाहरु सहभागी भई ७५ जिल्लाबाटै सेवा प्रदान गरिरहेका छन् ।

यस प्रणालीमार्फत हालसम्म ७ वटा संगठित संस्थाहरुको सार्वजनिक निष्काशन भइसकेकोमा पछिल्लो थप सार्वजनिक निष्काशनमा करीब ६४ प्रतिशतभन्दा बढी दरखास्त रकम आस्वा प्रणालीमार्फत प्राप्त भई यो प्रणालीको कार्यान्वयनमा गतिशीलता आएकोले यसलाई अनिवार्य गर्न उर्जा प्राप्त भएको बोर्डको भनाई छ । 

आस्वा प्रणालीमा सहभागी केही बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन मार्फत समेत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेका छन । यसको अलावा प्रारम्भिक अवस्थामा आस्वा प्रणालीमा प्रति दरखास्त रु.२५०।– सम्म सेवा शुल्क लिनसक्ने व्यवस्था रहेकोमा आस्वा सम्बन्धी निर्देशिकामा संशोधन गरी बोर्डले लिने शुल्क समेत हटाई प्रति दरखास्त बढीमा रु.१००।– सम्म मात्र शुल्क लिनसक्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि केही बैंक तथा वित्तीय संस्थाहरुले सेवालाई निशुल्क एवं अधिकांश संस्थाहरुले सेवा शूल्क रु. १० देखि २५ रुपैयाँसम्म कायम गरेका छन् । 

हाल आस्वा प्रणालीको कार्यान्वयन स्थिति सुदृढ हुंदै गएको, पचहत्तरै जिल्लाबाट यो सेवा प्रदान भइरहेको र यस प्रणालीलाई अनिवार्य गर्न लगानीकर्ता, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाहरुसहित सरोकारवाला पक्षहरुबाट समेत माग भएको उल्लेख गर्दै बोर्डले साउन १ गतेदेखि अनिवार्य रुपमा यो प्रणाली लागू हुने स्पष्ट पारेको छ । 

आगामी साउन १ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गरिएको र बोर्डबाट अनुमतिप्राप्त आस्वा सदस्यहरुलाई सहज, प्रभावकारी एवं सरल ढंगले आस्वा सेवा प्रदान गर्न आफ्नो मुख्य कार्यालय तथा सेवा प्रदान गर्ने सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई तालिम तथा अन्य आवश्यक सम्पूूर्ण व्यवस्था गर्न बोर्डले आग्रह गरेको छ । साथै आस्वा सेवा प्रदान सम्बन्धमा बोर्डबाट स्थलगत निरीक्षण कार्य भइरहेको र सो क्रममा कुनै त्रुटी भेटिएमा त्यस्ता आस्वा सदस्यहरुको अनुमति खारेज गरिने वा सो सेवा प्रदान गर्न रोेक लगाइने चेतावनी समेत दिइएको छ ।  

बोर्डका अनुसार आस्वा प्रणाली अनिवार्य गरिएपछि धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया हालको ७० दिनबाट घटि बढीमा २० दिनसम्ममा सम्पन्न हुनेछ । यसले आम लगानीकर्तालाई निकै सहज हुने बताइएको छ ।