– अर्जुन तिमिल्सिना

काठमाण्डौ । ब्रोकरले ल्याउने भनेको नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आउँदो साउन १ गतेबाटै सञ्चालनमा ल्याउने सम्भावना न्यून देखिएको छ। 

नयाँ टीएमएस सञ्चालनका लागि आवश्यक एपीआई पोलिसी नियामकबाट असार तेस्रो साता बितिसक्दा पनि नपाएका कारण साउन १ गतेबाट सञ्चालनमा ल्याउने सम्भावना कम हुँदै गएको हो। एपीआई पोलिसी पाएपछि मात्र नयाँ टीएमएस सञ्चालनका लागि आवश्यक तयारी हुने र यसका लागि केही समय लाग्ने भएकोले पनि साउनबाट सञ्चालनमा आउने सम्भावना क्षीण बनेको छ। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली नियामक निकायबाटै एपीआई पोलिसी आउन ढिलाइ भइरहेकोले अब साउन १ गतेबाटै ब्रोकर आफ्नै टीएमएस सञ्चालनमा आउने सम्भावना टर्दै गएको बताए। ‘नियामक निकायहरुमै एपीआई पोलिसी घुमिरहेको छ, त्यहाँबाट स्वीकृत भएर आएपछि मात्र हामीले नयाँ टीएमएस सञ्चालनको प्रक्रिया अगाडि बढाउने हो’, उनले भने, ‘त्यसैले अब साउन १ बाटै नयाँ टीएमएस आउने सम्भावना देखिँदैन।’

अब पनि लगानीकर्तालाई झुटो आश्वासन दिन नसकिने मैनालीको भनाइ छ। ‘एपीआई पालिसी नै नआएपछि टीएमएस साउनबाटै सञ्चालन आउँछ भनेर कसरी भन्ने ?’, प्रश्न गर्दै उनले भने, ‘अब असारको अन्तिम सातासम्म एपीआई पोलिसी स्वीकृत भएर आए पनि नयाँ टीएमएस सञ्चालनका लागि केही समय लाग्छ। जसका कारण साउनबाटै नयाँ टीएमएस सञ्चालन आउँछ भनेर हामीले लगानीकर्तालाई आश्वासन दिने अवस्था छैन।’

अध्यक्ष मैनालीले नयाँ टीएमएस २–३ वटा मोडलमा हुने जानकारी दिए। ‘नयाँ टीएमएस अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ’, उनले भने, ‘नयाँ टीएमएसमा हामी आफैँले सिस्टम डेभलप गर्ने कि सब्सक्राइब गर्ने वा सबै किनेर ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ।’ 

नयाँ सिस्टम ल्याउन अहिले नै खर्च कति लाग्छ भन्ने यकिन नभएको अध्यक्ष मैनालीले बताए। ‘तर पैसाकै कारण नयाँ टीएमएस ल्याउने काम रोकिन्न’, उनले स्पष्ट पारे। 

नयाँ टीएमएस सञ्चालनबापत प्रयोगकर्ताले वार्षिक केही शुल्क भने तिर्नुपर्ने हुन सक्ने मैनालीले बताए। ‘तर प्रयोगकर्ताबाट के–कति शुल्क लिने भन्ने विषयमा निर्णय भइसकेको छैन’, उनले भने। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले यही असारभित्रै ब्रोकरलाई नयाँ टीएमएस सञ्चालनका लागि एपीआई पोलिसी दिइने बताए। 

धितोपत्र बोर्डको उच्च स्रोतले नेप्सेबाट प्राप्त संशोधित एपीआई पोलिसीका विषयमा छलफल भइरहेको र छिटै पास गरेर पठाउने तयारी भइरहेको जानकारी दिएको छ।