– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सीडीएससीले आउँदो साउनबाट ‘सेन्ट्रल केवाईसी’ कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। यसका लागि सीडीएससीले अहिले सेन्ट्रल केवाईसीको डेमो परीक्षण सरोकारवाला निकायहरुबीच गरिरहेको छ। 

यही सिलसिलामा सीडीएससीले ‘सेन्ट्रल केवाईसी’को बिहीबार मर्चेन्ट बैंकहरुमाझ डेमो परीक्षण गर्ने भएको छ। सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले सेन्ट्रल केवाईसीको डेमो परीक्षण मर्चेन्ट बैंकहरुमाझ गर्न लागिएको जानकारी गराए। ‘यसअघि सेन्ट्रल केवाईसीको ब्रोकरहरुमाझ एक चरणको छलफल तथा परीक्षण भइसकेको छ’, उनले भने। 

अब सबै प्रक्रिया मिल्दै गएमा आउँदो साउन १ गतेदेखि सेन्ट्रल केवाईसी कार्यान्वयमा ल्याउने तयारी भइरहेको पनि आचार्यले बताए। ‘अहिले सेन्ट्रल केवाईसी सेवा प्रदान गर्दा सेवाग्राहकीबाट लिने शुल्कका विषयमा पनि छलफल भइरहेको छ’, आचार्यले बिजशालासँग भने। 

सेन्ट्रल केवाईसी लागू भएपछि लगानीकर्ताले ठाउँ–ठाउँमा केवाईसी भर्दै हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाउने आचार्यको भनाइ छ। ‘तर, सेन्ट्रल केवाईसीमा बायोमेट्रिक पनि राख्नुपर्ने भएकोले सेवाग्राहीले सामान्य शुल्क तिर्नुपर्ने हुन सक्छ’, उनले भने, ‘त्यसैले सेवाग्राहीलाई मार नपर्ने नगरी न्यायोचित शुल्क तोक्ने विषयमा छलफल चलिरहेको छ।’ 

अहिले केवाईसी भर्दा फोटोलगायत अन्य चिजमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने हुन्छ। ‘तर, सेन्ट्रल केवाईसीपछि फोटो बाहिर खिचिरहनु नपर्ने भएकोले सेवाग्राहीलाई सामान्य शुल्क जस्टिफाई हुन्छ’, आचार्य भन्छन्। 

सीईओ आचार्यले ब्रोकरहरुले पनि आफ्ना सेवाग्राहीलाई बिनाशुल्क सेन्ट्रल केवाईसी सेवा उपलब्ध गराउन कठिन हुने बताएको बताउँछन्। ‘ब्रोकरहरुले पनि बायोमेट्रिकका लागि कर्मचारी खटाउनुपर्ने हुन्छ’, उनले भने, ‘त्यसैले ब्रोकरहरुले सेन्ट्रल केवाईसीका लागि सेवाग्राहीलाई उपयुक्त शुल्क तोक्नुपर्ने बताएका छन्।’