काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त संस्थालाई ५ करोड २० लाख रुपैयाँ बराबरको सेयरको इनिसियल पब्लिक अफरिङ(आइपीओ) गर्न अनुमति दिएको छ । 

सूर्योदय लघुवित्त  र आरएसडिसी लघुवित्त बित्तीय संस्थालाई ५ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ गर्न बोर्डले अनुमति प्रदान गरेको हो । 

अनुमति पाएपछि अब सूर्योदय लघुवित्त संस्थाले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि साउन पहिलो साताभित्रै निश्कासन गर्नेछ । ग्लोबल आइएमई क्यापिटल लिमीटेड यो संस्थाको आइपीओको बिक्री प्रबन्धकको रुपमा नियुक्त भइसकेको छ । 

ग्लोबल आइएमई क्यापिटलका अधिकारीहरुका अनुसार साउन पहिलो सातादेखि यो संस्थाको आइपीओ बजारमा आउनसक्छ । 

सूर्योदय लघुवित्त संस्थाले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो । यो संस्थाको हाल चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ४ करोड पुग्नेछ । 

यसैगरी, बुटवलमा रहेको आरएसडीसी लघुवित्त बित्तीय संस्था लिमीटेडले पनि ४ करोड मूल्यको ४ लाख कित्ता साधारण सेयर निश्कासन गर्दैछ । एनआईबिएल क्यापिटल यो कम्पनीको आइपीओमा बिक्री प्रबन्धक नियुक्त भएको छ । इक्रा नेपालले यो संस्थाको आइपीओलाई ४ ग्रेडको रेटिङ प्रदान गरेको छ, यो भनेको मध्यम अवस्था हो ।

यो संस्थाको अधिकृत पूँजी २० करोड, जारी पुँजी १० करोड र चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ । आइपीओ जारीपछि यो संस्थाको चुक्तापूँजी १० करोड पुग्नेछ । यो संस्थाको रिजर्भ र सरप्लसमा १ करोड ९९ लाख रुपैयाँ रहेको छ । 

यो संस्थाले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ करोड ५ लाख खूद नाफा आर्जन गरेको थियो । यसको निस्क्रिय कर्जा दर ०.०७ मात्र छ । संस्थाका अधिकारीहरुका अनुसार आइपीओ साउन महिनाभित्र जारी भइसक्नेछ । 

♦यसअघिको समाचारमा भूलवश १६ करोडको आइपीओ भनिएकोमा सुधार गरिएको छ ।