काठमाण्डौ । यही साउन महिनाभित्रै ‘मेरो सेयर’को मोबाइल एप अब आइफोनसहित सबैखाले आईओएस मोबाइल प्रयोगकर्ताले पनि डाउनलोड गरी सेवा लिन पाउने भएका छन्। 

सीडीएससीका प्रवक्ता एवं आईटी विभागका प्रमुख सुरेश न्यौपानेका अनुसार यसअघि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले मात्रै ‘मेरो सेयर’ एप प्रयोग गर्न सक्थे । ‘अब साउनभित्रै आईफोनसहित सबै आईओएस मोबाइलमा पनि मेरो सेयर एप प्रयोग गर्न सकिनेछ’, न्यौपानेले भने। 

सीडीएससीले २०७७ साल आसोज पहिलो सातादेखि एन्ड्रोइड मोबाइलमा चल्ने गरी ‘मेरो सेयर’ एपको सुरुआत गरेको थियो। ‘आईओएस मोबाइलमा पनि यो एप चलाउन मिल्ने गरी धमाधम काम भइरहेको छ, लगभग अन्तिम चरणमा पुगेको छ’, उनले भने। 

यो एप एफवान सफ्ट कम्पनीले बनाएको हो । यस्तो एपबाट लगानीकर्ताले सेयर विवरण, आफ्नो सेयरको पोर्टफोलियो, आईपीओ, एफपीओ, भारित औसत लागत गणना तथा ईडीआएसको सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। 

पछिल्लो समय पुँजीबजारको विस्तार हुँदै जाँदा मेरो सेयरमा आबद्ध लगानीकर्ताको संख्य ४४ लाख १ हजार ५७ जना पुगेका छन्।