काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै करिब १२ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। 

उद्योग विभागका अनुसार साउनमा ६० वटा उद्योगमा ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो। गत आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँबराबरको मात्रै विदेशी लगानी प्रतिबद्धता भएको थियो।

यसपालि साउनमा सबैभन्दा बढी लगानी प्रतिबद्धता ५४ वटा साना उद्योगमा आएको छ। त्यस्तै ४ वटा मध्यम र २ वटा ठूलो उद्योगमा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। 

यी उद्योगहरुमा कुल ३ हजार ३०१ जनाले रोजगारी पाउने प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। 

विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा २८.४६ प्रतिशत आएको छ। त्यस्तै सेवामा २६.४३ प्रतिशत, उत्पादनमा ४.७ प्रतिशत, सूचना तथा प्रविधि र कृषिमा १.२–१.२ प्रतिशत विदेशी लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ। 

गत आर्थिक वर्ष कुल ३२७ वटा उद्योगमा ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको थियो। गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ।