काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको अन्तर्राष्ट्रिय व्यापार घटेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ। गत आर्थिक वर्षको साउनमा १ खर्ब ४६ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो। यो हिसाबले समीक्षा महिनामा अन्तर्राष्ट्रिय व्यापार २.२८ प्रतिशतले घटेको छ। 

साउनमा आयात र निर्यात दुवै घट्दा अन्तर्राष्ट्रिय व्यापार घटेको हो। साउनमा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको आयात व्यापार भएको छ। जुन गत वर्षको साउनको तुलनामा १.५ प्रतिशतले कम हो। गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात व्यापार भएको थियो। 

उता मुलुकको निर्यात व्यापार पनि ८.६ प्रतिशतले घटेको छ। साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको मात्रै वस्तु विदेशीतर्फ निर्याता भएको छ। गत वर्षको साउनमा १४ अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।