काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युतले आउँदो साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गर्न लागेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख कित्ता सेयर स्थानीयका लागि बिक्री खुला गर्नेछ। 

स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिनेछ। २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिनेछ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिनेछ। 

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। 

यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

यो आईपीओमा स्थानीयले सानिमा क्यापिटल, आयोजनास्थलस्थित कार्यालय र सानिमा बैंकको विदूर शाखा, किस्पाङ शाखा र धुन्चे शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमो साउन १८ गते र ढिलोमा भदौ १ गते बैंकिङ समयपछि हुनेछ। 

माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।