काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनले उकालो यात्रा सुरु गरेको छ । शुक्रबारको तुलनामा प्रति तोला २ सय र अघिल्लो आइतबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले वृद्धि भई सुनको भाउ प्रति तोला ५६ हजार १ सयमा कारोबार भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ५५ हजार ९ सय थियो । आइतबार भने ५६ हजार १ सयमा कारोबार भइरहेको छ । अघिल्लो आइतबार सुन तोलामा ५५ हजार ३ सयमा कारोबार भएको थियो । 

तेजाबी सुनको मूल्यमा समेत वृद्धि भएको छ । शुक्रबार प्रति तोला ५५ हजार ६ सय ५० रुपैयाँ रहेकोमा आइतबार बढेर ५५ हजार ८ सय ५० पुगेको छ । 

सुनसँगै आइतबार चाँदीको भाउमा समेत वृद्धि भएको छ । शुक्रबारसम्म ७ सय ८५ प्रति तोलामा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा ५ रुपैयाँले बढी ७ सय ९० पुगेको छ ।