काठमाण्डौ । सेयर बजार साताको तेस्रो दिन मंगलबार पनि ओरालो लागेको छ। 

बजार आज २८.४० अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०१९.८५ को विन्दुमा झरेको छ। राम्रा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८६ अंकले घटेर ३८५.५६ को विन्दुमा आर्लेको छ। कारोबार रकम हिजोको तुलना घटेर पौने २ अर्ब रुपैयाँको हाराहारीमात्रै भएको छ। 

बजार लगातार घट्दै जानुले लगानीकर्तामा अन्यौलता छाएको छ। यसका कारण कारोबार पनि निरन्तर सुस्ताउँदै गएको छ। बैंकहरुको रिपोर्ट सन्तुलित आउँदा बजार बढ्ने आशा गरेका लगानीकर्ताहरु बजार लगातार घट्दा झनै द्विविधामा परेका छन्। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार १९८० आसपासबाट फर्किन सक्ने बताउँछन्। ‘किनकि भदौबाट बजारमा लोन आउन सक्छ’, उनले भने। 

बिष्टको विचारमा २–४ महिना बजार २००० देखि २३००को आसपासमा चल्ने देखिन्छ। ‘मंसिरबाट मात्रै बजार बाटो तय गर्न सक्छ’, उनले भने। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे हिजो राष्ट्र बैंकले आयात खुकुलो पार्न खाले नीति ल्याउँदा बजारमा प्रभाव परेको बताउँछन्। ‘तरलतामा चाप पर्ने आँकलनका कारण पनि बजार घटेको हुन सक्छ’, उनले भने। 

चाडपर्वमा सामान आयात गर्न अब व्यापारीहरु सेयर बजारबाट बाहिरिन सक्ने पनि घिमिरेको तर्क छ। ‘अहिलेको तरलता स्थायी प्रकृतिको नभएको जस्तो देखिन्छ’, उनले भने, ‘यद्यपि बैंकहरुले ब्याजदर बढाहाल्नुपर्ने अवस्था भने छैन।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक २.७० प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.६९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०४ प्रतिशत, विकास बैंक समूहमा १.७३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७४ प्रतिशत, लगानी समूहमा ०.७२ प्रतिशत, जीवन बीमा समूहमा १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३१ प्रतिशत, लघुवित्त समूहमा १.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०५ प्रतिशत र अन्य समूहमा १.७६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक १७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ९५ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३ करोड ८१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५० लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ४६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। स्वरोजगार लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा नेपाल रिपब्लिक मिडियाको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।