काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २१.९९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०११.१४ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकले घटेर ३८४.१२ को विन्दुमा झरेको छ। कारोबार रकम साढे १ अर्ब रुपैयाँको हाराहारीमा मात्रै भएको छ। 

बजार जानकार महेश रिजाल सप्लाई बढी भएका कारण बजार घटेको बताउँछन्। ‘ब्रोकरमा खासै पैसा आएको छैन’, उनले भने, ‘सिजनको बेला पनि बजार घट्नुलाई त्यति राम्रो मान्न सकिन्न।’

भोलुम निकै ड्राई भएका कारण बजार धेरै तल नजाने पनि रिजालको भनाइ छ। ‘बजार १९८० बाट फर्किएर पुनः २२०० पुग्न सक्छ’, उनले भने, ‘बजारमा बुल नै आउन भने पोलिसीमै परिमार्जन हुन आवश्यक छ।’

अर्का बजार जानकार दमोदर गजुरेल अहिले बजारमा गुड न्युज र उत्साह नभएको बताउँछन्। ‘कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट पनि उत्साहजनक रहेन’, उनले भने, ‘होटेल सेक्टरले मात्रै बजार धान्न सकेन।’

बजारमा करेक्सन नपुगेकोले एकपटक २००० तल आएपछि फर्किन सक्ने गजुरेलको तर्क छ। ‘आज भोलुम घटेको छ’, उनले भने, ‘मिड टर्म र लङ टर्मका लागि भने लगानीका लागि अवसर नै छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.३४ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.८५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२८ प्रतिशत, विकास बैंक समूहमा ०.९३ प्रतिशत, वित्त समूहमा ०.६४ प्रतिशत, लगानी समूहमा १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६५ प्रतिशत, लघुवित्त समूहमा ०.८७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५९ प्रतिशत, अन्य समूहमा १.५७ प्रतिशत र व्यापार समूहमा १.२६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ६३ लाख रुपैयाँबराबरको भएको आज ज्योति विकास बैंकको ४ करोड ५२ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ६ लाख रुपैयाँ, घोराही सिमेन्टको ३ करोड ७२ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४७ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ६७ लाख रुपैयाँ र साना किसान विकास लघुवित्तको २ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज फरवार्ड लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

यो दिन अप्पर साङ्गे हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेकोछ।