काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २९.८१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६०.७८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०९ अंकले घटेर ३७६.६२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब १८ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल बजार घट्नलाई रोकिन गुड न्युज आउनुपर्ने बताउँछन्। ‘लगानीकर्ता हतासमा छन्’, उनले भने, ‘लगानीकर्ताले स्टप लस गर्दा पनि बजार घटेको हो।’

अहिले बजारमा सप्लाई बढी भइरहेको पनि रिजाल बताउँछन्। ‘कम्पनीहरुको हकप्रद नै बिक्री नहुने अवस्था छ’, उनले भने। 

अर्का बजार जानकार कविराज तिमिल्सिना पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार घटेको बताउँछन्। ‘मौद्रिक नीतिले बजार बढ्न सपोर्ट गरेन’, उनले भने, ‘अब सरकार र नियामक निकायको सकारात्मक पहल आवश्यक छ।’

लाभांशको सिजनमै बजार घट्नुलाई राम्रो मान्न नसकिने पनि तिमिल्सिना बताउँछन्। ‘यद्यपि भोलुम बजारअनुकूल नै छ’, उनले भने, ‘अहिले बजारमा घटेर नचाहेको अवस्था देखिन्छ। डिमान्ड पनि कमजोर छ।’

बजार धेरै ठाउँ भने नरहेको तिमिल्सिनाको तर्क छ। प्राविधिक रुपमा १९६०मा बलियो सपोर्ट देखिन्छ’, उनले भने। 

प्राविधिक रुपमा पनि बजार कमजोर देखिएको रिजालको भनाइ छ। ‘अझै केही समय प्यानिक हुन सक्छ’, उनले भने। 

स्थानीय निकायको फन्ड निक्षेपका रुपमा गणना भएमा ब्याजदर घट्न सक्ने रिजाल बताउँछन्। ‘यसो भएमा बजार बढ्न सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.३३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८७ प्रतिशत, विकास बैंक समूहमा १.५५ प्रतिशत, वित्त समूहमा १.३१ प्रतिशत, लगानी समूहमा १.३९ प्रतिशत, जीवन बीमा समूहमा २ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९४ प्रतिशत, लघुवित्त समूहमा १.७६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा २ प्रतिशत, अन्य समूहमा १.३१ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४११ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन सोल्टी होटेलको सर्वाधिक ३ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिटी होटेलको ३ करोड ७४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३ करोड ४९ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड २३ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ८९ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड २७ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको २ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज थ्री स्टार हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो लिबर्टी इनर्जी र सिटी होटेलका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। ग्रीन भेन्चर्सका सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।