काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २८.९२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९३२.४५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५६ अंकले घटेर ३७१.५८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब १५ रुपैयाँको भएको छ। 

बजार जानकार मुक्ति आर्याल राष्ट्र बैंकको नीतिगत व्यवस्थाकै कारण बजार प्रभावित भइरहेको बताउँछन्। ‘नीतिगत व्यवस्थामा परिमार्जन नभएसम्म बजार माथि जान सक्ने देखिँदैन’, उनले भने, ‘सेयर लोनमा १२ करोडको सीमा नहटाएसम्म बजारले गति लिँदैन।’

सोही सीमाका कारण ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको अर्यालको बुझाइ छ। ‘ठूलाले नआएसम्म बजार माथि जाँदैन’, उनले भने, ‘त्यसैले बजार अझै केही दिन यस्तै रहला तर धेरै तल जाँदैन।’

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट नीतिले सपोर्ट नगर्दा बजार माथि जान नसकेको बताउँछन्। ‘लगानीकर्ताको मनोबल बढाउने काम नियामकहरुबाट भएका छैनन्, बजार घट्दा पनि उनीहरु मौन बसेका छन्’, उनले भने, ‘त्यसैले पनि बजारले गति लिन नसकेको हो।’

स्थानीय निकायको फन्डको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने अर्थमन्त्रीको निर्णय शुक्रबारबाट कार्यान्वयनमा आउने कुरा रहेको पनि बिष्ट बताउँछन्। ‘त्यसैले बजार फर्किने आशा गर्न सकिन्छ’, उनले भने, ‘बजार धेरै तल जाँदैन। १८९० को आसपासबाट बजार फर्किन सक्छ।’

बजारले लगभग बटम लगाइसकेको बिष्टको तर्क छ। ‘त्यसैले आगामी साता वा अर्को साताबाट बजार फर्किन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक २.५२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.०४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०७ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.१६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७१ प्रतिशत, लगानी समूहमा १.१९ प्रतिशत, जीवन बीमा समूहमा १.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७३ प्रतिशत, लघुवित्त समूहमा १.३८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत र व्यापार समूहमा ०.४४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ३७ लाख ६९ हजार ३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख २० हजार ६०८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन लिबर्टी इनर्जीको सर्वाधिक ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ४ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ३ करोड ७७ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड १४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड १४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९५ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ९३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ६० लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज शुभम पावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीको साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन बाराही हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। अप्पर सोलु हाइड्रोको सेयरभाउमा पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।