काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजार उकालो लागेको छ। 

बजार आज १०.२३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९४२.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३२ अंकले बढेर ३७३.९० को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल लगातार घटेको बजार आज बढेको बताउँछन्। ‘यसलाई बजार घट्न रोकिएको भन्न सकिन्छ’, उनले भने, ‘बजार फर्किहाल्यो भन्न चाहिँ हतार हुन्छ।’

स्थानीय निकायको फन्ड बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाएमा ब्याजदर घट्ने रिजालको भनाइ छ। ‘यसले बजारमा सकारात्मक प्रभाव पार्न सक्छ’, उनले भने। 

रिजालको विचारमा पुँजीबजारमा सुधार आउन नीतिगत व्यवस्थामै परिमार्जन हुन आवश्यक छ। अन्यथा एनआरएन भित्र्याउने भन्दै गर्दा स्वदेशी लगानीकर्ता र पुँजी नै पलायन हुन सक्ने उनले चेतावनी दिए।

अर्का बजार जानकार दामोदर गजुरेल पनि लगातार घटेको बजारमा आज सुधार आएको बताउँछन्। ‘बजारको प्रस्ट दिशा अझै केही दिन हेरेरमात्रै भन्न सकिन्छ’, उनले भने। 

अर्थमन्त्री पुँजीबजारप्रति केही सकारात्मक नै रहेकाले बजारमा पनि महौल बन्दै जान सक्ने गजुरेलको तर्क छ। ‘केही कम्पनीहरुले घोषणा गर्ने लाभांशले पनि बजारको लय प्रस्ट हुन सक्छ’, उनले भने, ‘प्राविधिक रुपमा भने बजार अझै पर्ख र हेरकै अवस्थामा रहेको छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.६७ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.२७ प्रतिशत बढ्दा बैंकिङ समूहमा ०.६४ प्रतिशत, विकास बैंक समूहमा ०.६२ प्रतिशत, वित्त समूहमा १ प्रतिशत, लगानी समूहमा ०.३० प्रतिशत, जीवन बीमा समूहमा ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१७ प्रतिशत, लघुवित्त समूहमा ०.८२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१७ प्रतिशत निर्जीवन बीमा समूहमा ०.८६ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह ०.१४ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१९ रुपैयाँमा किनबेच भएका छन्। 

आज हिमाल दोलखा हाइड्रोपावरको सार्वधिक ८ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माछापुच्छ्रे बैंकको ४ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ४ करोड ४ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ९३ लाख रुपैयाँ, सोल्टी होटेलको ३ करोड ४७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड १३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९८ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ६५ लाख रुपैयाँ, एसटीसीको २ करोड १४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको २ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सूर्योदय वोमी लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा शुभम पावर, ङादी हाइड्रोपावर र मन्छियाम हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 

यो दिन हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।