काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १२.५८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०८.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले घटेर ३६४.७४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब १७ करोड रुपैयाँबराबरको मात्र भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजारको पछिल्लो घटाइले लगानीकर्ताहरुको राष्ट्र बैंकको सर्कुलरबाट बेखुस रहेको प्रस्ट हुने बताउँछन्। ‘सेयर लोनमा सीमा बढाउनु सकारात्मक रहे पनि बजारको आवश्यकअनुसार नीतिमा परिवर्तन भएन’, उनले भने, ‘यो भनेको क्यान्सरका रोगीलाई सिटामोल दिएजस्तै भयो, अर्थतन्त्रमा वास्तविक उपचार भएन।’

जबसम्म राष्ट्र बैंकले कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतसम्म ल्याउँदैन तबसम्म बजारले गति नलिने घिमिरेको भनाइ छ। ‘कहिलेकाहीँ बजारमा ५०–१०० अंकको घटबढ हुनु स्वाभाविक हो’, उनले भने, ‘लगानीकर्तालाई राहात मिल्ने गरी नीतिमा परितवर्तन नभएसम्म बजारमा पैसा आउँदैन।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ०.४९ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह पनि ०.०६ प्रतिशतले बढेको छ। 

आज जीवन बीमा समूह सर्वाधिक १ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.९७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा ०.५१ प्रतिशत, वित्त समूहमा ०.५२ प्रतिशत, जलविद्युत समूहमा ०.३४ प्रतिशत, लगानी समूहमा ०.३६ प्रतिशत, लघुवित्त समूहमा ०.७९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८० प्रतिशत र अन्य समूह सर्वाधिक ०.८५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८७ कम्पनीका ४३ लाख २७ हजार १७९ कित्ता सेयर १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिलायबल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन लघुवित्तको ३ करोड ११ लाख रुपैयाँ, सिटिजन लाइफको २ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड २९ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड २२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड १९ लाख रुपैयाँ, सानिमा जीआईजी इन्स्योरेन्सको २ करोड १४ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सयपत्री हाइड्रोपावरको सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

आज बराही हाइड्रोपावर र हिमालयन लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। बराही हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत र हिमालयन लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीका गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।