काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै बजार बन्द भएको छ

गत साताभरि बजार गिरावट हुँदा साताको अन्तिम दिन बिहीबार भने नेप्से परिसूचक सकारात्मक लयमा फर्केको थियो। आज आइतबार भने नेप्से परिसूचक २२.४० अंकले बढेर यो साताको कारोबारमा सुखद् सुरुआत देखिएको छ। बजारको वृद्धिसँगै कारोबार रकममा समेत विगतका दैनिक औसत कारोबार रकमभन्दा दोब्बर भई झन्डै २ अर्ब रुपैयाँ हाराहारी भएको छ। 

बैंक तथा वित्तीय संस्थामा अन्य सेक्टरमा लगानीका लागि ऋण प्रवाहमा संकुचन हुन थालेपछि ब्रोकर हाउसमै सेयर धितो कर्जाका लागि बैंकहरु धाउन थालेको ब्रोकरहरुको भनाइ छ। बैंकहरुले सेयर धितो कर्जा वार्षिक ८–९ प्रतिशतमा दिन ब्रोकर हाउस धाउन थालेपछि लगानीकर्ताको खरिद क्षमतामा समेत वृद्धि भई बजार बढ्न सक्ने ब्रोकरहरुको दाबीसमेत छ। 

हाल बैंकहरुले समेत सेयर धितो कर्जामा ऋण प्रवाह गर्न इच्छुक रहनु र सिंगल डिजिट ब्याजदर झर्दा आमलगानीकर्तासमेत थप लगानीका लागि बैंकहरु धाउन थालेको बताउँछन्। ब्याजदर र सेयर बजारबीच ठ्याक्कै उल्टो सम्बन्ध हुन्छ। ब्याजदर कम हुँदै जाँदा बैंकमा रहेका बचत सेयर लगानीमै आउने र लगानीकर्तासमेत आफूसँग भएका सेयर धितो राखी सो रकम सेयर बजारमा नै लगानी हुने भएकोले समेत बजार वृद्धिको संकेत रहेको विश्लेषकहरुको दाबीसमेत छ।

आज नेप्सेमा रहेका १२ उपसमूहमध्ये १० वटामा हरियाली छायो भने २ वटामा रातो पोतियो।

आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा २४१.१२ अंक र ३३४.३२ अंकको बढोत्तरी भयो। यस्तै बैंकिङ समूहमा १६.२७ अंक, व्यापार समूहमा ८.५१ अंक, होटेल्स् समूहमा २२.९३ अंक, विकास बैंक समूहमा १०.८४ अंक, वित्त समूहमा ३.८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.३३ अंक, अन्य समूहमा ११.२८ अंक र लघुवित्त समूहमा २७.२७ अंकको वृद्धि भयो। 

यो दिन जलविद्युत् समूहमा २.१२ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट देखियो।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ४४ लाख ५८ हजार १५३ कित्ता सेयर १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँमा कारोबार भयो। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी २५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भयो।

यसैगरी पुनर्बीमा कम्पनीको १९ करोड ९० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८ करोड ५६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ५० लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ६३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ६ करोड २८ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ९८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ४ करोड ८५ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

आज मिर्मिरे लघुवित्तका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा ९.९७ अंकको बढोत्तरीसँगै पोजेटिभ सर्किट लाग्यो। यो दिन तारागाउँ रिजेन्स होटेलको सेयरमूल्य ९ प्रतिशत बढी तथा जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

आज बेस्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो।