काठमाण्डौ । सेयर बजार सोमबार पनि दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज ११.६९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१२९.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले बढेर ३९९.११ को विन्दुमा पुगेको छ। कारोबार सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार नयन बास्तोला आज बजारमा नाफा बुक भएको बताउँछन्। ‘तर, पनि बजार बढेर बन्द भएको छ’, उनले भने, ‘सेक्टर रोटेसन हुँदै बजार बढेको देखिन्छ।’

तरलता बढ्नु र ब्याजदर घट्नुले लगानीकर्ताको मनोबल बढ्दै गएको बास्तोलाको तर्क छ। ‘बजारमा ट्रेडर हावी हुँदा कारोबार पनि बढेको छ’, उनले भने। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्ताको मनोबल बढ्दा बजार पनि बढेको बताउँछन्। ‘राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत अब बजारलाई प्रभावित पार्ने खाले नीतिहरु नल्याउनेमा सबै आशावादी छन्’, उनले भने। 

बजारमा नचलेका सेक्टरहरु पनि विस्तार चल्दै जाने बिष्टको भनाइ छ। जलविद्युत समूहले केही दिनभित्रै गति लिन सक्ने उनको अनुमान छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह सर्वाधिक ३.९९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.११ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६९ प्रतिशत, विकास बैंक समूहमा ०.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८४ प्रतिशत, लगानी समूहमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५० प्रतिशत र म्युचुअल फन्ड समूहमा १.३७ प्रतिशतको बढोत्तरी भएको छ। 

आज निर्जीवन बीमा समूह सर्वाधिक ०.९७ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५४ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.४४ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र व्यापार समूहमा ०.२४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक ४२ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको २७ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १५ करोड ४९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ८६ लाख रुपैयाँ, नागरिक लगानी कोषको १२ करोड ५३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९ करोड ९६ लाख रुपैयाँ, एभरेस्ट बैंकको ९ करोड ४३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड १७ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। हिमालयन लाइफ इन्स्योरेन्जको सेयरभाउमा १० प्रतिशत र बिपिडब्लु लघुवित्त, सिटी होटेल, सिभिल लघुवित्त र माउन्टेन इनर्जीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आशा लघुवित्त, मिथिला लघुवित्त र डिप्रोक्स लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सुपर मादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ करिब ७ प्रतिशतले ओरालो लागेको छ।