– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साताको पाँचै कारोबार दिनमा सेयर बजार ओरालो लागेको छ। 

साताभरि बजार १४५ अंकले घटेको छ। अघिल्लो साता २२२३.७८ मा बन्द भएको बजार यो साता २०७८.७ मा बन्द भएको छ। साप्ताहिक रुपमा बजारमा जम्मा ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ। 

खासगरी राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा र सरकारबाट प्रस्तुत बजेटपछि आधारभूत रुपमा बजार कमजोर बनेको देखिन्छ। 

आज हामीले बजारको साप्ताहिक रुपमा विभिन्न औजारले के–कस्ता आकृति बनाएका छन् भनेर विभिन्न टुल्समार्फत हेरेका छौँ। 

प्राविधिक पक्ष

बजारलाई विभिन्न टुल्समार्फत हेर्दा बिक्रीकर्ता हावी भएको देखिन्छ। बोलिंगर ब्यान्डको दैनिक चार्टमार्फत हेर्दा मूल्यरेखाले पटक–पटक मध्य ब्यान्डमा प्रतिरोध सामाना गर्दै तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। अप्पर ब्यान्ड र तल्लो ब्यान्डबीचको दूरी बढेको छ। यसले बजारमा उच्च भोलाटाइल भएको देखिन्छ। 

आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। (बोलिंगर ब्यान्डमा हेर्नुहोस् कालो एरो)  

त्यसैगरी म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम राता र लामा–लामा बन्दै गएका देखिन्छन्। 

दैनिक चार्टमा नै आरएसआई ओभर सोल्ड जोन ३० भन्दा तल २५ को जोनमा पुगेको छ। यसअघि यस्तो विन्दु १९ को तहमा आएपछि बजार फर्केको थियो। (हेर्नुहोस् आरएसआईमा कालो एरो)

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाब निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २३०९
  • प्रतिरोध २– २४८०
  • प्रतिरोध ३– २५७१

पिभट प्वइन्ट :  २२१७

घटेमा सपोर्ट

  • सपोर्ट १– २०४६ 
  • सपोर्ट २– १९५५
  • सपोर्ट ३– १७८३

निष्कर्ष

बजारलाई विभिन्न टुल्समार्फत हेर्दा आरएसआई ओभर सोल्ड जोन २५ को तहमा रहेको छ। विगतको आरएसआईको अवस्था हेर्दा बजार १९ को विन्दुसम्म आएको देखिन्छ। 

म्याक्डीमा पनि बियरिस क्रसओभर बनेको देखिन्छ। बजार पिभट प्वइन्ट २२१७ भन्दा तल करोबार भएकोले बजार प्रस्ट रुपमा नै बियारिस भएको देखिन्छ। 

क्यान्डल स्टिकमार्फत हेर्दा विगतमा लगातार ८ वटा क्यान्डल बनेपछि बजारमा बढोत्तरी आएको देखिन्छ। आजसम्म बजारमा यस्तो बियरिस क्यान्डल ७ वटा बनेका कारण बजारमा अबको १–२ क्यान्डलपछि अल्पकालीन बाउन्सको सम्भावना पनि देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।