काठमाण्डौ। उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ। 

प्रदर्शनी आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ। प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरुले बैशाख १७ गतेसम्म बुकिङ गर्न सक्नेछन्।  

चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा वैशाख २२, २३ र २४ गते प्रदर्शनी आयोजना हुन लागेको हो।

आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवा प्रदर्शनी हुनेछ। यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहनेछन्। 

निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायबाट प्रदर्शनी अवलोकन हुनेछ। 

उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवं विदेशी उद्योगीहरुबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ, प्रक्रियाका सम्बन्धमा अनुभव आदान प्रदानमार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुर्याउन महत्वपूर्ण अवसर प्राप्त हुनेछ।  

तीनदिने औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवर्द्धनका लागि विषय विज्ञको उपस्थितिमा अन्तर्क्रियासमेत आयोजना गरिनेछ। यसले औद्योगीकिकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरुसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्नेछ। 

प्रदर्शनीमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरुका विषय, नेपाल उद्योग परिसंघका तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ। प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पुर्याउने उपयुक्त अवसरका रुपमा समेत रहनेछ।