चितवन । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ।
‘दिगो आर्थिक विकासका लागि बृहत अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको हो।
चितवनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो। औद्योगिक प्रदर्शनी बैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुन गईरहेको हो।
प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स को व्यवस्थापकीय साझेदारी र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरुको प्रवर्द्धन सहयोगमा हुन लागेको हो।
औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहनेछन्। केही स्टल वैशाख २१ गतेसम्म बुकिङ गर्न सकिनेछ।
प्रदर्शनी अवलोकनका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ। उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रदर्शनी रहेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।
प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूकाबीच प्रत्यक्ष भेटघाट तथा छलफल भई औद्यागिक अनुभव तथा ज्ञान आदानप्रदानसमेत हुनेछ। प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने÷नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त अवसर बन्ने कँडेलले बताए।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर र नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान” विषयमा गोष्ठी तथा सेमिनार हुनेछ। प्रदर्शनीले वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ। आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदानमार्फत उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना–साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरु समावेश हुने भएकोले नेपालको औद्योगिक विकासका लागि यस प्रदर्शनीबाट थप बल पुग्ने आयोजकको विश्वास रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19