-सन्दीप पौडेल 
सेयरको दोस्रोबजारमा सामान्यतः खरिदबिक्री हुने सेयरलार्इ साधारण सेयर भनिन्छ ।  अरु लगानीयोग्य बित्तीय उपकरणहरुमा भन्दा साधारण सेयरमा लगानी गर्दा बढी जोखिम मोल्नु पर्दछ । तर, सोचेर, बुझेर अध्ययनको साथ सेयरमा लगानी गर्ने हो भने प्रतिफल अर्थात् नाफा पनि अरु ठाउँ भन्दा बढी नै कमाउन सकिन्छ । पूँजीबजारमा धेरै किसिमका लगानीकर्ताहरु छन्, जो विभिन्न तरिकाहरुबाट लगानी गर्ने गर्दछन्। 

सेयर बजारमा नबुझी लगानी गर्ने हो भने धेरै घाटा बेहोर्नुपर्छ र धेरै दुख भोग्नु पर्छ । त्यही भएर यहाँ समय र समझदारीको साथ हरेक निर्णय लिंदा गहिरो सोचाइ र बुझाइमा केन्द्रित रहनुपर्छ ।   सेयरबजारमा हामीले धेरै थोरै लगानीकर्ताहरु देखेका छौ, जो सफलताको शिखर चढ्न सकेका छन्, किनकि उनीहरुको लगनशीलता, धैर्यता र मेहनत धेरै हुने गर्छ । सफल लगानीकर्ताहरुले पनि गल्ती नगर्ने होइनन् । तर, फरक यो छ कि सफल लगानीकर्ताहरुले गल्तीको पश्चताप गर्नुको साटो गल्तीबाट सिक्ने गर्दछन् । सफल लगानीकर्ताहरु समयलाई कुरेर बस्दैनन्, बरु समयको साथ अगाडि बढ्छन् । 

सेयर लगानीकर्ताहरुले साधारण सेयरमा लगानी गर्दा निम्न कुराहरुमा धेरै ध्यान दिनुपर्छ:
१.कम्पनीको बारेमा गहिरो तरिकाले बुझ्नुस र  पहिचान गर्नुस । कम्पनी कस्तो छ र कसरी संचालन भइरहेको छ, कसरी बजारमा टिक्न सक्छ जस्ता कुराहरुको बरोमा लगानीकर्ताहरुले गहिरो रुपमा सोच्न जरुरी छ । 

२.कम्पनीको ब्यवसाय र सेवाको बारेमा बुझ्नुहोस् र सो ब्यवसायको मूल्यांकन गर्नुहोस्

भ्यालु इन्भेष्टर पिटर लिञ्चले भनेका छन्: ब्यवसाय नबुझी सेयर किन्नु भनेको जोखिम निम्त्याउनु हो । त्यही भएर लगानीकर्ताहरुले सर्वप्रथम कम्पनीको ब्यवसाय बुझ्न जरुरी छ ।

३.कम्पनीको नाफा आर्जन गर्ने क्षमताको विश्लेषण गर्नुहोस्:
लगानीकर्ताहरुले सेयरमा लगानी गर्नुको मुख्य उद्देश्य भनेकै नाफा आर्जन गर्नु हो, त्यही भएर नाफा कमाउनसक्ने क्षमताको बिषयमा सोच्नु महत्वपूर्ण मानिन्छ । 

४.कम्पनीको आम्दानीको इतिहास हेर्नुस । कम्पनीको बजारमा बस्तु वा सेवाको माग हेरी आम्दानी गर्नसक्ने क्षमताको बिषयमा बुझ्नुपर्छ । 

५.कम्पनीको प्रतिस्पर्धाको बारेमा विश्लेषणत था प्रतिस्पर्धी क्षमताको विश्लेषण:
कुनै पनि कम्पनीको सबैभन्दा ठूलो चुनौति भनेकै प्रतिस्पर्धामा टीकेर नाफा कमाउनु हो । त्यही भएर कम्पनीको प्रतिस्पर्धी र प्रतिस्पर्धात्मक क्षमताको बारेमा लगानीकर्ताहरुले गहिरो सोच्न जरुरी छ ।

६.कम्पनीको वासलात अर्थात बित्तिय विवरणको बारेमा गहन अध्ययन । 
कम्पनीको प्रकाशित वासलात बित्तीय विश्लेषणको प्रमुख आधार हो ।  वासलातलार्इ सामान्य रुपमा डाक्टरको मेडिकल रिपोर्टसँग तुलना गर्ने गरिन्छ ।  

७. कम्पनीका संचालक तथा ब्यवस्थापकको बारेमा बुझ्नुहोस् । 
लगानीकर्ताहरुले कुनै पनि कम्पनीको संचालक र ब्यवस्थापनको बारेमा बुझ्नु पर्दछ ।

८.कम्पनीको वार्षिक प्रतिवेदनको राम्रोसँग अध्ययन: कम्पनीले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनहरु ध्यान दिएर पढ्नुपर्छ ।

९.कम्पनीसँग सम्बन्धित जोखिमको बारेमा बुझ्नुहोस् र कतिको सुरक्षित छ भन्ने विश्लेषण गर्नुहोस् । यो क्रममा तपाईले कम्पनीको ब्यवसायमा हुने जोखिम तत्वहरुको राम्रोसँग खोजबिन र विश्लेषण गर्र्नुपर्छ । 

१०. सधै अण्डरभ्यालूड सेयर खरिद गर्नुस । कम मूल्यांकन भएको सेयर खरीद गर्नुपर्छ ।

११. बजारमा राम्रो नाफा आर्जन गरी लगानीकर्ताहरुलार्इ नियमित लाभांश वितरण गर्ने कम्पनी छान्नुपर्छ । नियमित लाभांश बाँडेर लगानीकर्ताको दिल खुश बनाउने कम्पनी तपाईको रोजाईमा पर्नुपर्छ ।

१२.कम्पनीको लंग टर्म ग्रोथको बिषयमा राम्रो ढंगले सोचेर योजना बनाउने गर्नुपर्छ । दीर्घकालनि लगानी योजनामा बढी ध्यान दिनुपर्छ र यो क्रममा कम्पनीको भविष्यको बिषयमा समेत सोच्नुपर्दछ । 

१३.दीर्घकालीन लगानीमा केन्द्रित रहनुपर्छ र सुक्ष्म अर्थशास्त्रको बारेमा गहन अध्ययन गर्नुपर्छ । देशको आर्थिक स्थितिको बारेमा गहिरो ढंगले सोच्नुपर्छ र दीर्घकालिन समयमा कस्तो प्रभाव पर्न सक्छ भन्ने कुराहरुमा सचेत रहनुपर्छ । 

१४. भावनालार्इ सधै नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ र भावनाबाट उचालिएर आफ्नो लगानी निर्णयमा प्रभाव गर्न दिने काम गर्न थाल्नुभयो भने तपाई जुनसुकै बेला डूब्न सक्नुहुन्छ । 

१५.अनावश्यक सुझाव र सल्लाहबाट टाढै बस्नुपर्छ । अनावश्यक सुझाव र सल्लाहबाट टाढा रहनुस र एस्ता सुझावबाट कहिल्यै पनि प्रभावित बन्ने काम नगर्नुहोस् ।

१६. महँगो र छोटो अवधिको  कर्जाबाट टाढै बस्नुपर्छ  ।महँगो ब्याज तिर्नुपर्ने र छोटो अवधिको ऋण बाट टाढा  बस्नुपर्छ । 

(लेखक युवा लगानीकर्ता हुन्)