काठमाण्डौ । साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष दीपकप्रसाद आचार्यले यस क्षेत्रलाई सरकारले धेरै नै उपेक्षा गरेकोले सबै उद्यमी–व्यवसायी एकजुट भएर अगाडि बढ्नुपरेको बताएका छन्। 

महासंघको आइतबार बसेको बैठकमा अध्यक्ष आचार्यले देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्या समाधान गर्न नसकेको बताए। ‘वर्षौंदेखि साना तथा मझौला व्यवसाय गर्दै आएका व्यवसायी धेरै किसिमको झमेलामा परेका छन्’, उनले भने, ‘मुलुकको जनशक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीयस्तरमै स–साना व्यवसाय खोली रोजगारी प्रवर्द्धन गर्नु जरुरी छ।’ 

स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुन सक्ने आचार्य बताउँछन्। ‘बाह्य जगतबाट आयातीत सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीपअनुरुपका व्यवसायमा आय तथा रोजगारीको सम्भावना बढिरहेको छ’, उनले भने, ‘तर, यसलाई प्रवरद्ध्न गर्ने काम भएको छैन।’

बैठकमा निर्यात परिषद् नेपालका अध्यक्ष एवं गण्डकी प्रदेश साना तथा मझौला उद्योग महासंघका गण्डकी प्रदेश प्रमुख रेशमबहादुर पोखरेलले आफूहरु धेरै वर्षदेखि निर्यात क्षेत्रमा लागे पनि यस क्षेत्रका व्यापारी–व्यवसायीका लागि सरकारले केही गर्न नसकेको बताए। ‘यस विषम परिस्थितिमा हामीले एकजजुट भई अगाडि बढ्नुपर्छ, जसले गर्दा हामी व्यवसायीहलाई उद्योग दर्ता गर्नदेखि लिएर उत्पादन गरी बजारसम्म लग्न धेरै समस्या छ, त्यतिमात्र नभएर वित्तीय स्रोतको अभावले गर्दा साना तथा मझौला व्यवसायहरूले प्रगति गर्न नसकेका हो’, उनले भने। 

पोखरेलले साना तथा मझौला व्यवसायी महासंघले यी विषयहरु सम्बन्धित निकायमा उठाउने विश्वास व्यक्त गर्दै सबैलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिए। 

महासंघका महासचिव डा.गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकोले निजी क्षेत्र र सरकारले संयुक्त रुपमा अघि बढ्नुपर्ने सुझाव दिए। ‘अहिले धेरै युवाहरुले केही उद्योग गरौँ भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा महासंघले त्यस्तो वर्गलाई समेटी अगाडि बढ्नुपर्ने आजको टड्कारो स्थिति छ’, उनले भने।