काठमाण्डौ । एनआईसी एशिया बैंकले साना किसान विकास लघुवित्तको निकै ठूलो कित्ता संस्थापक सेयर अक्सनमार्फत बिक्री गर्ने भएको छ । 

साना किसान विकास लघुवित्तले एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकले न्यूनतम ३४८ रुपैयाँ प्रतिकित्ता मूल्य राखेर ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको हो । 

साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले लिलामीमा राखिएका यी सेयरहरु खरीदका लागि बोलकबोल पेश गर्नसक्ने बताइएको छ । 

शिलबन्दी बोलपत्र पेशका लागि मंसिर २४ देखि पुस २९ गतेसम्मको मिति तोकिएको छ । 

बोलपत्रको आवेदन फारम पाउने र बुझाउने(संकलन केन्द्र) समेत तोकिएको छ । जसअनुसार इच्छुक संस्थापक सेयरधनीले थापाथलीको टेडटावरमा रहेको एनआईसी एशिया क्यापिटलको मुख्य कार्यालय, सानाकिसान लघुवित्तका विर्तामोड(झापा), इटहरी(सुनसरी), बर्दिबास(महोत्तरी), हेटौंडा(मकवानपुर), गजुरी(धादिंग), पोखरा(कास्की), बुटवल(रुपन्देही), नेपालगञ्ज(बाँके), वीरेन्द्रनगर(सुर्खेत), बबरमहल(काठमाण्डौ), लहान(सिरहा) र अत्तरिया(कैलाली)बाट फारम लिन र बुझाउन सक्नेछन् । 

यस्तै, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, शाखा कार्यालयहरु क्रमशः विराटनगर, आदर्शनगर(वीरगञ्ज), महेन्द्रपुल पोखरा, श्रवणपथ(बुटवल), हस्पिटललाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतबाट समेत फारम भर्न र बुझाउन सकिनेछ।