काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चलेको ‘मर्जर लहर’को प्रभाव सेयर बजारमा समेत पर्न थालेको छ । मर्जर वा एक्वीजिसनको सम्झौताका लागि कुनै दुई वा दुईभन्दा बढी कम्पनीबीच छलफल सुरु भएको सूचना बजारमा आउँदा समेत लगानीकर्ताहरुले त्यस्ता कम्पनीमा लगानी बढाइरहेका छन् ।

पछिल्लो समय कतिपय ठूला बैंकहरुले साना वित्तीय संस्थालाई उठाएर पूँजीको आकार ठूलो बनाउने अभियान संचालन गरेपछि र सानालाई प्राप्ति गर्न केही सहज हुने देखिएसँगै सेयर बजारमा पनि साना कम्पनीको भाउ ह्वात्तै बढेको छ । ठूला बैंकले निकै आकर्षक सेयर स्वाप अनुपातमा कमजोर कम्पनी समेत उठाउन थालेपछि साना कम्पनीहरु बजारमा एकाएक चम्किएका हुन् । 

वाणिज्य बैंकहरुले नै धमाधम एकजिल्ले, तीन जिल्ले विकास बैंकदेखि पूँजीको सानो आकार भएको वित्त कम्पनी समेत उठाउन थालेपछि साना कम्पनीको भाउ बढेर सेयर बजारमा यस्ता कम्पनीको राज चल्न थालेको छ । समग्र सूचकमा यस्ता कम्पनीको न्यून प्रभाव परे पनि कमाउने कम्पनीको सूचिमा बिहीबार साना र कमजोरकै रजगज देखियो ।

बिहीबार केही ठूला संस्थासँग मर्जरको छलफलमा रहेका साना कम्पनीका लगानीकर्ताहरु यो दिन सबैभन्दा धेरै कमाउनेको सूचिमा दरिए ।

साना र कमजोरको भाउ एकाएक बढ्नुमा प्राइम कमर्सियल बैंक धन्यवादको पात्र हुनसक्छ । उसले तीन जिल्ले र निकै सानो पूँजीको आकार भएको कन्काई विकास बैंकलाई उठाएपछि र अन्य एकदर्जन साना संस्थासँग एक्वीजिसनको छलफल चलाएपछि अरुबेला गुमनाम झै हुने कम्पनी समेत एकाएक सिनमा आएका छन्, त्यो पनि चमकधमकका साथ ।  

नेप्से परिसूचक र कारोबार रकममै सुस्तता देखिएको यो दिन धेरै कमाउने १० कम्पनीको सूचिमा साना कम्पनीले एकछत्र राज गरे । 

यो दिन सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ९.६५ प्रतिशतले वृद्धि भयो । गुड्विल फाइनान्सको सेयर मूल्य ९.६० प्रतिशतले बढ्यो भने वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.५२ र ९.४० प्रतिशतले बढ्यो । 

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमीटेडको सेयर मूल्य ८ प्रतिशतले बढेको यो दिन मञ्जुश्री फाइनान्सको मूल्यमा ७.४४ प्रतिशतको बढोत्तरी भयो । गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ७.०२, ६.६७, ६.५२ र ६.०९ प्रतिशतले बढ्यो । 

यो दिन पाँचथर पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.०१ प्रतिशतले घट्यो । 

अरु के–के भयो ?
साताको अन्तिम कारोबार दिन बिहीबार चार समूहको सूचक बढ्यो भने बाँकीमा रातो पोतियो । 

होटल समूह ३.६३ अंकले बढेको यो दिन विकास बैंक समूहमा ३.४६ अंक, बित्त समूहमा १८.५५ अंक र अन्य समूहमा १.५४ अंकको बढोत्तरी भयो । 
बैंकिङ समूह ५.६२ अंकले घटेको यो दिन ट्रेडिङ समूह ५.१५ अंक, जलविद्युत समूह ३.९७ अंक, निर्जीवन बिमा समूह ११.३१ अंक, जीवन बिमा समूह ८५.२४ अंक, माइक्रोफाइनान्स समूह ५.०६ अंक र उत्पादन तथा प्रशोधन समूह १४ अंकले घटे । 

कारोबारको आधाभन्दा बढी समय नेप्सेको डिस्प्ले र रियल टाइम डेटामा समस्या आए पनि ब्रोकरको टिएमएस चलिरहेको थियो । यही आधारमा लगानीकर्ताहरुले खरीदबिक्रीको निर्णय लिएका थिए । 

यो दिन नेप्से परिसूचक ४.६९ अंकले घटेर १२८४.५९ को विन्दूमा सीमित हुन पुग्यो भने कारोबार रकम घटेर ५८ करोड ८८ लाखमा सीमित हुन पुग्यो ।