काठमाण्डौ । नेपाल पूँजीबजार संघले सेयर बजारका साना र ठूला लगानीकर्तालाई सेयर धितो कर्जा प्रवाहमा बैंकहरुले विभेद गरेका आरोप लगाउँदै त्यस्तो व्यवस्था खारेजीको माग गरेको छ । 

संघले सोमबार नेपाल बैंकर्स संघलाई ४ बुँदे ज्ञापनपत्र पेश गर्दै सेयर धितो राखेर थोरै ऋण लिने साना लगानीकर्तालाई ऋण दिन अनेक आनाकानी र बाहानाबाजी गर्ने गरिएको आरोप लगाएको हो । 

‘कतिपय बैंकहरुले साना लगानीकर्तालाई २ ४ लाख रुपैयाँको सेयर धितो कर्जा नै नदिने, अनेक बाहाना बनाएर झुलाउने र पाँच करोड, १० करोड कर्जा लिनेलाई चाहि घरैमा गएर कर्जा प्रवाह गर्ने नीति लिएको देखिएकोमा बैंकहरुले साना लगानीकर्ताको हितमा सेयर धितो कर्जा प्रवाह गर्ने नीति अवलम्बन गरियोस् ।’–महासचिव नयन बास्तोलाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ । 

संघले सेयर धितो कर्जालाई बढीमा १० प्रतिशतमा सहज रुपमा लगानीकर्ताले पाउने गरी व्यवस्था हुनुपर्ने माग समेत गरेको छ । मार्जिक कायम गरेको अवस्थामा कुनै पनि लगानीकर्तालाई अत्याउने काम पनि बन्द हुनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । 

संघले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत ब्रोकरेज सेवा दिन पाउने व्यवस्था गरिएको, तर सो व्यवस्थाको कार्यान्वयन नभइरहेको भन्दै सो बिषयमा वाणिज्य बैंकको धारणा आउनुपर्ने माग पनि गरेको छ । 

संघले ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा बन्द गरी स्थिर ब्याजदर कायम गरी बित्त बजारमा स्थायीत्व प्रदान गर्न समेत बैंकर्स संघसँग माग गरेको छ । 

संघको ज्ञापनपत्र बुझ्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले लगानीकर्ताको हितको बिषयमा आफूहरु समेत गम्भीर रहेको र संघले उठाएका मागप्रति सकारात्मक रहेको बताएका थिए ।