काठमाण्डौ । सानिमा क्यापिटल मार्केट लिमीटेडले संचालन गर्न लागेको पहिलो म्युचुुअल फण्ड सानिमा इक्वीटी फण्डमा उत्साहप्रद आवेदन नपरेको देखिएको छ । यो स्किमले १ अर्ब २० करोड मूल्यका इकाईहरु जारी गरे पनि तीन दिनसम्म मुश्किलले ७५ करोड समेत पुुगेको छैन । 

आज(मंसिर १८ गते) यो स्किमको इकाई खरीदका लागि आवेदन दिने अन्तिम दिन हो । 

सानिमा क्यापिटलका एक अधिकारीका अनुसार यसअघि निश्कासन भएको सिद्धार्थ क्यापिटलको तेश्रो म्युचुुअल फण्डमा जस्तो यो स्किममा अचाक्ली आकर्षण देखिएन । सिद्धार्थको तेश्रो स्किममा अचाक्ली आकर्षण देखिएपछि अन्तिम अवस्थामा कानूनी अधिकार प्रयोग गर्दै कोषको आकार बढाउनुपरेको थियो । 

सानिमा क्यापिटल मार्केट म्युचुुअल फण्ड व्यवस्थापनको क्षेत्रमा नौलो र अनुुभवहीन कम्पनी हो । यहीकारण समेत कतिपय लगानीकर्ता यसको म्युचुुअल फण्डको इकाई खरीदमा हामफालेर गएनन् । 

त्यति मात्र होइन, अहिले बजार घटबढको प्रभावले झण्डै आधा दर्जन म्युुचुुअल फण्डहरुको इकाई दोश्रो बजारबाट १० रुपैयाँ भन्दा कम मूल्यमा पाइराखिएका कारण समेत झञ्झटिलो प्रक्रियामार्फत नयाँ फण्डको इकाईलाई १० रुपैयाँ हाल्न धेरैले मरिहत्ते समेत गरेनन्, जसको नकारात्मक प्रभाव सानिमा इक्वीटीको आइपीओ कलेक्सनमा देखिएको बताइन्छ । 

सोमबार आइपीओमा आवेदन दिन अन्तिम दिन भएको र अन्तिम दिन नै धेरै आवेदन पर्ने विगतको अनुुभव रहेकोले निर्धारित समयमा मागेजति आवेदन पर्नसक्ने फण्ड संचालकको अपेक्षा छ । दुुई दिनको सार्वजनिक विदापछि आइपीओका लागि आवेदन दिने पहिलो चरणको अन्तिम म्याद सोमबार सारिएको हो । यो अवधिसम्म पनि मागेजति आवेदन नपरे अधिकतम मिति पुनः तोकिइनेछ । 

मुलुक दोश्रो चरणको निर्वाचनको माहौलमा होमिएकोले अन्य बेलाजस्तो यो स्किममा अन्तिम दिन धेरै आवेदन पर्न नसक्ने संभावना पनि देखिन्छ ।