काठमाण्डौ । पूर्वी पहाडी जिल्ला खोटाङस्थित एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावरबाट असार अन्तिमदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । 

खोटाङ जिल्लालाई विद्युतभार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालनको तयारी भइरहेको हो । 

७० प्रतिशत सानिमा बैंक र बैंक अफ काठमाण्डौको र ३० प्रतिशत स्थानीयको लगानीमा निर्माण सम्पन्न भएको हाइड्रोपावरका लागि मेसिन जडानको मात्र काम बाँकी रहेकाले असार अन्तिमदेखि संचालन हुने आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिए । यहाँबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । 

साप्सु कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा उत्पादन हुन लागेको हाइड्रोपावर निजी साझेदारी(पिपिपी) मोडलमा सञ्चालन हुने जनाइएको छ । हाइड्रोपावरबाट उत्पादित विद्युत् बुइपास्थित केन्द्रीय लाइनको सबस्टेसन पु¥याएर प्रवाह गरिने कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । 

हाइड्रोपावरमा चारवटा कम्पनीले काम गरिरहेका छन् । हाइड्रो मेकानिकलका लागि महाशक्ति हाइड्रोपावर कम्पनी, ट्रान्समिसनका लागि शाह इलेक्ट्रोनिक प्रालि, सिभिलका लागि पेसिफिक बिल्डर्स र इलेक्ट्रोमेकानिकलका लागि चिन्सीले जिम्मा लिएका छन् । हाइड्रोपावर सञ्चालन भएपछि जिल्लामा विद्युत् सञ्चालन भएका सबै गाविसमा विद्युतभार कटौती नहुने जनाइएको छ । केन्द्रीय विद्युत प्रयोग हुँदै आएको जिल्लामा अहिलेसम्म ३८ गाविसका उपभोक्ताले विद्युत उपभोग गर्दै आएका छन् । 

गत असोजबाटै सञ्चालनमा ल्याउने भनिए पनि गत साल असार १९ गतेको भीषण वर्षापछि आएको बाढीले हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वेल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रड लगायतका सामान बगाएर रु ४० लाखभन्दा बढीको क्षति पुगेको थियो । त्यसपछि गत सालकै चैत अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि भारतीय नाकाबन्दीका कारण सामान ढुवानी गर्न नसक्दा काम प्रभावित भएको थियो ।