काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ६० करोड रुपैयाँबराबरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

यो कम्पनीले निश्कासन गरेको आइपीओमा तेश्रो दिन शुक्रबारसम्म अत्यधिक आवेदन परिसकेको छ । शुक्रबारसम्म १९ लाख १८ हजार बढी आवेदकबाट २ करोड ९९ लाख भन्दा बढी कित्ताका लागि आवेदन परिसकेको छ । यो कम्पनीको आइपीओ खुलेको पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको थियो । 

कम्पनीले गत असार २० गतेबाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सानिमा लाइफको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।