काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन ३० गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

क्यापिटलका अनुसार हिजो साँझसम्म यो आईपीओमा १० लाख ८३ लाख २२३ हजार आवेदकबाट कुल १ करोड २७ लाख २ हजार २२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.९९ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसअनुसार भाग्यमानी ४ लाख २४ हजार ८९३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाउनेछन्।