काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन फागुन ३० गतेसम्म झन्डै ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओ हिजो बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सीडीएससीकाअनुसार हिजो अन्तिम दिन साँझसम्म यो आईपीओमा १४ लाख १५ हजार ९६२ आवेदकबाट कुल १ करोड ६२ लाख ८१ हजार ६९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.८३ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसअनुसार भाग्यमानी ४ लाख २४ हजार ८९३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाउनेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।