काठमाण्डौ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलका भ्रातृ संगठनले सामाजिक सञ्जालमा आचारसंहिताविपरीत मिथ्या र भ्रामक सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिजस्ता सामग्रीलाई राख्ने कारबाही गर्ने चेतावनी दिएको छ।

सामाजिक सञ्जालमा त्यस्ता सामग्री राख्ने काम भइरहेको भन्दै आयोगले यस्तो चेतावनी दिएको छ। त्यस्ता सामग्री राखिएको पाइएमा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुनअनुसार कारबाही हुने आयोगले स्पष्ट पारेको छ। 

आयोगले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले टीकाटिप्पणी गर्न वा गराउन नहुने जनाएको छ। कुनै प्रयोजनका लागि प्रकाशन तथा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्य तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर वा कमेन्ट गर्न वा गराउन नहुने पनि आयोगले स्पष्ट पारेको छ। 

कुनै पनि राजनीतिक दल वा उम्मेदवारले निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको स्वीकृति नलिई सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गरेको पाइएमा त्यसलाई आचारसंहिता उल्लंघन कार्य मानी कारबाही हुने आयोगले चेतावनी दिएको छ।