– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँको झैँ साताको पहिलो दिन आइतबार हामी सेयर बजारका लगानीकर्ताको धारणालाई समेट्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

आज बकर इदको सार्वजनिक बिदा परेकोले सेयर बजार बन्द रहेको छ। त्यसैले हामीले ब्रोकर हाउसको सट्टा विभिन्न सामाजिक सञ्जालबाट लगानीकर्ताको धारणा समेटेका छौँ। 

आज बिदा भएकोले लगानीकर्ताहरु सामाजिक सञ्जालमै आफ्ना अनुभव र विचार राख्न व्यस्त देखिए। केही लागानीकर्ता क्लब हाउसमा केही टीएलाई र विज्ञ भन्नेहरुको पछि लाग्दा डुबेको तीतो अनुभव पोख्दै थिए। 

क्लब हाउसमा ‘कागताली’ नामबाट प्रस्तुत भएका लगानीकर्ताले भने, ‘म त निफ्राको सेयर किनेर बजार पसेको हुँ, अहिले के भएको हो किन्यो कि घट्छ, बेच्यो कि बढ्छ। अब के गर्ने होला ?’ 

ती लगानीकर्तालाई सुझाव दिँदै ‘पोजिटिभ बुल’ नामबाट प्रस्तुत भएका अर्का लगानीकर्ताले भने, ‘स्टक छानेर, बजारको मोमेन्टम हेरेर, फन्डामेन्टलमा ध्यान दिएर  किन्नुपर्छ।’

ती कागताली नामक लगानीकर्ता फेरि बोले, ‘अहिले त मलाई कुनै गुरुको भर लाग्दैन। सेयर बजारमा सिकाइ महँगो भयो।’

ती दुवैलाई अर्का एक अपरिचित लगानीकर्ताले सोधे, ‘होइन तपाइँलाई बस्यालको पनि भर लाग्दैन ?’

कागतालीले भने, ‘म त क्लब हाउस सुनेर किन्दा डुबेँ, अब त कसैले भनेको पत्याउँदिन। यो होल्ड इज गोल्डमा कत्तिको भर हुन्छ ?’ 

कागतालीलाई जबाफ दिँदै लक्ष्मीप्रसाद न्यौपाने नाम गरेका अर्का लगानीकर्ताले भने, ‘बजारको ट्रेन्डमा भरपर्छ, कुनै कम्पनी होल्ड गर्दा पनि डुबिन्छ। सुरुमा म बजार पस्दा, मैले बेच्न जानिनँ, होल्ड गरेको गर्यै, कम्पनी घटेको घट्यै, यस्तो पनि हुन्छ बजारमा। मेरो गाउँको एकजना दाइले नबिल बैंकको १० कित्ता सेयर किनेर ३६ वर्ष होल्ड गरेका छन्। सक्ने जति होल्ड गर्ने हो। मलाई त अघिल्लोपटकको अनुभवले अहिले काम दियो। अघिल्लोपटक २०६६ मा बजार पसेको ७२ मा बल्लबल्ल नाफामा आयो । कहिले  काहीँ कम्पनीलाई बढी नै माया गर्दा पनि डुबाउँछ। योपालि केही कम्पनी भने राम्रै मूल्यमा बेचियो।’

त्यही फोरममा सोम सुवेदी नामक लगानीकर्ताले भने, ‘यो बजारमा नयाँ लगानीकर्ता आएपछि मात्रै बढ्ने रहेछ। कहिले सासूको पालो, कहिले बुहारीको पालो भनेजस्तो रहेछ। पुरानाले कमाउने नयाँले गुमाउने !’

‘मैले त विदेशबाट कमाएर लगाएको पैसा हो। बजार तलमाथि गर्दा धेरै रमाइलो लाग्छ। हेर्नुहोस् न अहिले जति पोजिटिभ समाचार आए पनि बजार बढ्नै सकेन’, सोम सुवेदी थपे, ‘बुझेर लगानी गर्नेले सधैँ कमाउँछ।’

नवराज दाहाल नाम गरेका एक लगानीकर्ता आफ्नो फेसबुक स्ट्याटसमा ब्रोकरहरुप्रति इंगित गर्दै लेखेका छन्, ‘नयाँ ब्रोकर लाइसेन्स रोक्न पुराना ब्रोकरहरु शक्ति केन्द्रहरु धाएका समाचार सत्य हुन् भने यस्ता काम स्वीकार्य छैन।’

त्यस्ता ब्रोकरलाई सुझाव दिँदै दाहालले लेखेका छन्, ‘नयाँ ब्रोकर खोल्न रोक्नुभन्दा पुँजी बढाएर गुणस्तरीय सेवा दिने भन्नेतिर लाग्दा राम्रो होला।’