– अर्जुन तिमिल्सिना

काठमाण्डौ । आज माघे संक्रान्तिको दिन सरकारले सार्बजनिक बिदा दिएको छ। योसँगै लगानीकर्ताहरु आज माघे संक्रान्ति मनाउँदै सामाजिक सञ्जालहरुमा सक्रिय भएका देखिन्छन्। 

आज सामाजिक सञ्जालमा मुख्यगरी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका तस्बिर र भिडियो प्रशस्तै देखिए। विमान दुर्घटनाको घटनालाई लिएर धेरै लगानीकर्ताले दुःख व्यक्त गरेका छन्। केही लगानीकर्ताले भने विमान दुर्घटना ज्यान गुमाएहरुको शोकमा सरकारले सोमबार बिदा दिएकोमा आपत्ति जनाएका छन्। 

एक लगानीकर्ताले क्लब हाउसमा भने, ‘विमान दुर्घटनामा दीप प्रज्ज्वल तथा सबैले प्रार्थना गर्नु ठिकै हो तर शोक बिदा नै दिनु भने उपयुक्त होइन।’

फेसबुकमा स्ट्याटस लेख्दै लगानीकर्ता सुवास क्षेत्री लेख्छन्, ‘कुनै बेला शुक्रबार पनि बजार हेरेका हामी लगानीकर्ता अब लगातार ४ दिन बजार नदेख्ने भयौँ। शनिबार साताको एक दिन बिदा स्वाभाविक थियो। आइतबार माघे संक्रान्तिका कारण पनि बिदा भयो। अब जहाज खसेर सोमबार पनि बिदा भयो। अब गाडी खस्दा पनि बिदा देऊ सरकार !’

यसै विषयमा क्लब हाउसमा प्रकाश पन्तले भने, ‘यसमा राष्ट्रिय शोक मनाउनु राम्रै हो तर शोक बिदा नै दिनु भनेको बुझ्न नसकिने कुरा भयो।’

क्लब हाउसमै बादशाह नाम गरेरका एक लगानीकर्ताले सोधे, ‘के बजार बुलमा गएको हो वा अझै साइडवेजमा चलेको छ ?’

क्लब हाउसमै अर्का एक लगानीकर्ताले बजार सधैँ पाठ सिकाउने बताए। ‘बजार सधैँ गुरु हुन्छ। मैले बजारबाट सिक्दैछु’, उनले भने, ‘मेरो विचारमा बजार माथि जान शक्ति सञ्चय गर्दै गरेको हुन सक्छ। केही दिन तल–माथि भए पनि बजार माथि नै जाने हो।’

एक लगानीकर्ताले क्लब हाउसमा बिदै–बिदाले भर्खर चलयमान हुन थालेको अर्थतन्त्र सुस्त हुने तर्क गरे। ‘लगातार ३–४ दिन बिदा हुनु भनेको अर्थतन्त्र सुस्त हुनु र सर्वसाधारहरुको सरकारी कामकाज थाँती रहेका हुन्छन्’, उनले भने, ‘कति होटेलमा बसेर वैदेशिक रोजगारीका लागि सरकारी कामकाजको विषय लिएर काठमाण्डौ आएका पनि छन्। सीमित खर्च लिएर आएका हुन्छन्। सरकारको यो बिदा अलि लाजमर्दो भयो।’

क्लब हाउसमै एक लगानीकर्ताले भने, ‘यसपालि त सेयर बेचेको पैसा लिन पनि लामै समय कुर्नुपर्ने भएको छ।’