काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको छ। 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै चालु आर्थिक वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका हुन्। चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। 

यसैगरी ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ। छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमालगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

चालु आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त रकम पनि अपुग भएपछि सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन दिन अतिरिक्त स्रोत खोज्नुपरेको थियो।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आगामी आर्थिक वर्षको बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।