काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। 

बजार आज ४.२७ अंकले घटेर १८६६.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३५७.०२ को विन्दुमा आर्लेको छ। कारोबार रकम ६९ करोड रुपैयाँको मात्रै भएको छ। यो भनेको ६ महिनायताकै न्यून हो। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट नेपालको सेयर बजार कम समयमै ठूलो अंकले खसेको बताउँछन्। ‘यो कोभिडपछि थलिएको अर्थतन्त्रको प्रभाव पनि हो’, उनले भने, ‘अब बजारलाई नीतिगत सुधार नै आवश्यक छ।’

करोबार घट्नुले बजारको घट्ने क्रम पनि रोकिँदै गएको भन्न मिल्ने बिष्ट बताउँछन्। ‘अब नियामक निकायले जोखिम भारित औसत दर र नीतिगत ब्याजदर घटाउनैपर्ने देखिन्छ’, उनले भने। 

बजार जानकार अर्जुन थापाले लगानीकर्ताको मनोबल बढ् नसक्दा केही समयदेखि बजार सुस्ताएको बताउँछन्। ‘अमेरिकामा अर्को बैंक पनि डुब्नुले लगानीकर्तामा त्रास बढेको देखिन्छ’, उनले भने। 

पुराना कर्जाको ब्याजदर नघट्दा पनि बजारमा प्रभाव परेको थापाको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.५४ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.०५ प्रतिशत, वित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२३ प्रतिशत र अन्य समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.५३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह सर्वाधिक ०.८७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, लगानी समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.६२ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.३१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका २३ लाख ३६ हजार ६२५ कित्ता सेयर ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक २ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको २ करोड १५ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ८० लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड ७८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँ, प्रभु बैंकको १ करोड ४९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ३२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भए। आजैबाट दोस्रो बजारमा कारोबार खुलेको यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन श्वेत–गंगा हाइड्रोपावर र मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।