काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य अंकको बढोत्तरी भएको छ। 

बजार आज ५ अंकले बढेर २०४२.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३० अंकले घटेर ३८३.३९ को विन्दुमा ओर्लेको छ। कारोबार भने हिजोको तुलनामा घटेर ३ अर्ब रुपैयाँ बढीको मात्र भएको छ। 

बजार जानकार मुक्ति अर्यालले आजको बजारलाई ‘चपी मार्केट’को संज्ञा दिएका छन्। ‘किनकि आज बजार धेरैपटक तलमाथि गर्यो’, उनले भने।

आन्तरिक राजश्व विभागले बुधबार जारी गरेको करसम्बन्धी सूचनाले पनि लगानीकर्तामा द्विविधा परेको हुन सक्ने अर्याल बताउँछन्। ‘त्यही कारणले केही लगानीकर्ताले डराएर सेयर बेचेको पनि हुन सक्छ’, उनले भने। 

अर्का बजार जानकार नयन बास्तोला पनि लगातार ८ दिन बढेको बजारमा आज इन्ट्राडे नाफा बुक भएको बताउँछन्। ‘यसलाई बजार परिपक्व हुँदै गएको मान्न सकिन्छ’, उनले भने।

आज बजार अन्तिम समयमा सकारात्मक नै भएर बन्द भएको उल्लेख गर्दै बास्तोलाले आगामी साता पनि बजार सकारात्मक हुन सक्ने तर्क गरे। 

हिजो र आज बजारमा प्रफिट बुक पनि भएको बास्तोला बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.५६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.९२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा ०.१५ प्रतिशत, म्युचुअल फन्डमा ०.०९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.३६ प्रतिशत र अन्य समूहमा ०.२१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १.७४ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१९ प्रतिशत, विकास बैंक समूहमा ०.३४ प्रतिशत, वित्त समूहमा ०.९६ प्रतिशत, जलविद्युत समूहमा ०.३३ प्रतिशत, लगानी समूहमा ०.२८ प्रतिशत र लघुवित्त समूहमा ०.५७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १७ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको १६ करोड ४ लाख रुपैयाँबराबरको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ३४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ५३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ६ करोड १७ लाख रुपैयाँ, नेपाल बैंकको ६ करोड ५ लाख रुपैयाँ, अपर तामाकोशीको ६ करोड १ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिटी होटेलका सेयरधनीहरु मालामाल भए। यो होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। अभियान लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन भूगोल इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।