काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार झिनो अंकले उकालो लागेको छ। 

बजार आज ५.१३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०६६.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१० अंकले बढेर ३९४.१५ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजाको तुलनामा बढेर २ अर्ब १५ करोड रुपैयाँ भएको छ। 

बजार जानकार केशव कोइराला (काका)ले हिजो ठूलो अंकले बढेको बजारमा आज नाफा बुक हुँदा बजार सामान्य अंकले बढेको बताउँछन्। ‘बजारमा पैसा आइसकेको छैन’, उनले भने, ‘त्यसैले बजारमा अझै केही समय साइडवेजमै चल्ने देखिन्छ।’

बजार केही माथि जाँदा बेच्ने र तल आउँदा किन्ने क्रम चलिरहेको कोइरालाले बताए। ‘त्यसैले बजार केही समयका लागि २००–३०० अंकको तल–माथि हुन सक्छ’, उनले भने। 

अर्का बजार जानकार सरोज भट्टराई बजारको आजको बढाइ सामान्य नै रहेको बताउँछन्। ‘हिजो धेरै अंकले बढेको थियो, आज थोरै अंकले बढ्यो’, उनले भने, ‘त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ।’

अहिले सिजन भए पनि बजार सोचेजस्तो बढ्न नसकेको भट्टराईका भनाइ छ। ‘लाभांशको पनि सिसन सुरु हुन लागेको छ। त्यसैले अहिले बजारमा लगानी गर्ने उपयुक्त समय छ’, उनले भने, ‘सास्ता र बलिया कम्पनीको सेयर किन्दा फाइदा नै हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.१० प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२५ प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक ०.३९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूहमा ०.२८ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र लघुवित्त समूहमा ०.१५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका ५५ लाख ३ हजार २१ कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोल्टी होटेलको सर्वाधिक १६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपर तामाकोशीको ११ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४० लाख रुपैयाँ, साल्ट ट्रेडिङको ६ करोड २२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७६ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४ करोड ४० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड २७ लाख रुपैयाँ र एभरेस्ट बैंकको ४ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज हिमालयन लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।