काठमाण्डौ । साताको अन्तिम दिन कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। हिजो ४१ अंकले बढेको नेप्से इन्डेक्स आज ५.१३ अंकले बढेर २०६६ विन्दुमा कायम हुन पुगेको छ। 

कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। आज जीवन बीमा उपसूचक घटेको छ भने निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशतले बढेको छ। 

जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा चाँडै हुने भएकाले गर्दा लगानीकर्ताहरु निर्जीवन बीमा कम्पनीको सेयरमा आकर्षण भएका हुन्। आज अधिकांश निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढेको छ। निर्जीवन बीमा कम्पनीहरु नेपाल बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन हकप्रद बिक्री खुला गर्ने तयारीमा छन्। यसकारण पनि आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको हो। 

बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। सलिकोको सेयरभाउ ३.४३ प्रतिशतले वृद्धि भई ७२४ रुपैयाँ पुगेको छ। यसका साथै युनाइटेड अजोडको सेयरभाउ पनि २.९५ प्रतिशतले बढेर ५९७ रुपैयाँ १० पैसा पुगेको छ। 

जीवन बीमा उपसूचक घटे पनि सानिमा रिलायन्स लाइफको सेयरभाउ भने २.४७ प्रतिशतले बढेको छ। कम्पनीको सेयरभाउ ५३५ रुपैयाँमा कायम भएको छ। त्यस्तै, एलआइसी नेपालको सेयरभाउ पनि १.९५ प्रतिशतले बढेको छ। 

यसका साथै एनएलजीको १.४९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.४५ प्रतिशत, शिखरको १.२४ प्रतिशत, हिमालयन एभरेस्टको १.१८ प्रतिशत, सानिमा जीआईसीको १.०१ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ०.९६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९३ प्रतिशत, सूर्यज्योति लाइफको ०.५३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४८ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.३९ प्रतिशतले सेयरभाउ बढेको छ। 

आज बीमा कम्पनीहरुमध्ये सर्वाधिक सेयरभाउ घट्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको सेयरभाउ १.४९ प्रतिशतले घटेर ४५७ रुपैयाँमा कायम भएको छ। 

त्यस्तै आइएमई लाइफको पनि १.२२ प्रतिशतले सेयरभाउ घटेर ५९० रुपैयाँमा कायम भएको छ। 

यसका साथै नेपाल लाइफको ०.८३ प्रतिशत, नेसनल लाइफको ०.८१ प्रतिशत, एसियन लाइफको ०.४३ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ ०.२७ प्रतिशतले घटेको छ। 

सेयरभाउ घटेसँगै आज टर्नओभरको टप १० लिस्टमा आइएमई लाइफ र नेपाल पुनर्बीमा कम्पनी परेका छन्। आईएमई लाइफको ८ करोड ४० लाख रुपैयाँ र नेपाल पुनर्बीमाको ४ करोड ७६ लाख रुपैयाँ माथिको कारोबार भएको छ।