काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ। 

बजार आज ५.०५ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९३.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंकले घटेर ३८२.८५ को विन्दुमा आर्लेको छ। कारोबार रकम साढे ८६ करोड रुपैयाँमा खुम्चिएको छ। 

बजार जानकार दामोदर गजुरेल बजारको मभुमेन्टले स्थानीय तहको फन्डलाई बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने विषयमा लगानीकर्ताहरु अन्यौलमा रहेको प्रस्ट हुने बताउँछन्। ‘केही सकारात्मक खबरहरु पनि आइरहेका छन्’, उनले भने, ‘तर, त्यही स्थानीय तहको फन्डलाई निक्षेपमा गणना गर्न पाउने कुरामा अन्यौलताले नै बजारमा अन्यौलता सिर्जना भएको हो।’

प्राविधिक रुपमा पनि बजारले सपोर्ट जोनलाई टेस्ट गरेको गजुरेलको भनाइ छ। ‘भोलम ड्राई भएको छ, यसले बजार अब तल जाँदैन भन्ने संकेत गर्छ’, उनले भने, ‘यो सकारात्मक पक्ष हो। बजार अझै १–२ दिन यस्तै रहला।’

नीतिगत सुधार भएमा बजार माथि ने जाने गजुरेल बताउँछन्।

अर्का बजार जानकार उपेन्द्र पाठक पनि स्थानीय तहको फन्ड निक्षेपमा गणना गर्न पाउने विषयमा अन्यौलता देखिँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजार स्थिर बनेको बताउँछन्। ‘भोलुम ड्राई हुनु भनेको त्यही कारणले लगानीकर्ता किन्न र बेच्न सक्रिय नभएकोले नै हो’, उनले भने। 

अर्थमन्त्रीले स्थानीय तहको फन्डलाई निक्षेप गणना गर्न दिने विषयमा प्रस्ट पारेमा, व्यवसायी आतंकित हुने काम बन्द गर्न लगाएमा, ब्याजदर घटाउने विषयमा पहल गरेमा बजारले गति लिने पाठकको भनाइ छ। ‘अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र राष्ट्र बैंक एकठाउँमा बसेर बजार चलायमान बनाउन उचित कदम चाल्नुपर्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.२५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ०.१२ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६३ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१७ प्रतिशत, विकास बैंक समूहमा ०.५६ प्रतिशत, वित्त समूहमा ०.२८ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, जीवन बीमा समूहमा ०.४५ प्रतिशत, लघुवित्त समूहमा ०.०१ प्रतिशत र अन्य समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ४० लाख ६ हजार ७३९ कित्ता सेयर ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन माछापुच्छ्रे बैंकको सार्वधिक ३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको ३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३८ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड २६ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ७६ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ७२ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ७१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज पनि कुथेल बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन स्वाभिमान लघुवित्त र सामलिङ पावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।