काठमाण्डौ । सेयर बजारमा सोमबार पनि सामान्य गिरावट आएको छ। 

बजारमा आज ७.४१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २०५३.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ३९७.११ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट अझै पनि बजारमा भदौ ८ को मनोवैज्ञानिक असर रहेको बताउँछन्। ‘अहिले बजार घट्न मानिरहेको छैन, यसले कुनै पनि बेला बजारले अपट्रेन्ड समात्न सक्ने संकेत गर्छ’, उनले भने, ‘त्यसैले यो महिनाको अन्त्यसम्म बजार राम्रै अंकले बढ्न सक्ने देखिन्छ।’

लाभांश घोषणाको पनि सिजन सुरु भइसकेको र विदेशी मुद्राको सञ्चिति पनि बढ्दै गएकोले बजार सकारात्मक ढंगले नै अगाडि बढ्ने बिष्टको विश्वास छ। ‘आसन्न चुनावअघि नै बजार २८०० भन्दा माथि उक्लिन सक्छ’, उनले भने।  

अर्का बजार जानकार सरोज भट्टराई दसैँअघिसम्म बजार साइडवेजमै चल्न सक्ने बताउँछन्। ‘तत्काल धेरै ठूलो उतारचढाव हुने देखिँदैन’, उनले भने। 

दसैँपछि बजार बढ्न सक्ने पनि भट्टराईको भनाइ छ। ‘किनकि रेमिट्यान्स बढ्छ र कम्पनीहरुले लाभांश पनि घोषणा गर्छन्’, उनले भने। 

ब्याजदर स्थिर रहनुले बजार सकारात्मक नै हुने अपेक्षा गर्न सकिने भट्टराई बताउँछन्। ‘यो बेला राम्रा–राम्रा कम्पनी छानेर लगानी गर्दा उचित हुन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। 

यो दिन म्युचुअल फन्ड समूह ०.२ प्रतिशतले उकालो लागेको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.०५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.६८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.११ प्रतिशत, व्यापार समूहमा ०.०४ प्रतिशत, विकास बैंक समूहमा ०.६ प्रतिशत, वित्त समूहमा ०.४७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६३ प्रतिशत, अन्य समूहमा ०.६६ प्रतिशत, लघुवित्त समूहमा ०.३३ प्रतिशत, जीवन बीमा समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.४२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ५२ लाख ३० हजार ७६३ कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक २८ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ८ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख रुपैयाँ, शिवम सिमेन्टको ५ कोड ५३ लाख रुपैयाँ, अपी पावरको ५ करोड ५२ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ५४ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ७३ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको २ करोड ७३ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको २ करोड ६८ लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा मन्दाकिनी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन दोर्दी खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।