काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य सुधार भएको छ। 

बजार आज १.८५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०५४.९८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.५८ अंकले बढेर ३९७.६९ को विन्दुमा पुगेको छ। कारोबार रकम भने झन सुस्त भएको छ। आज सवा १ अर्ब रुपैयाँ बढीको मात्रै कारोबार भएको छ। 

पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला बजार साइडवेजमा चलेको बताउँछन्। ‘आजबाट ४–१२ को सेलटमेन्ट पनि सकिएको छ’, उनले भने।

ब्रोकर लाइसेन्स वितरणको विषयमा मन्त्रिपरिषद् निर्णय गर्न बाँकी रहेको बजारमा केही अन्यौलता देखिएको बास्तोलाको तर्क छ। ‘आज कारोबार पनि घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्’, उनले भने।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि तत्काल बजारमा ठूलो उतारचढाव हुने अवस्था नरहेको बताउँछन्। ‘लाभांशको सिजन सुरु भइसकेको छ, बजार सकारात्मक नै बन्ने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५८ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ०.५२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३७ प्रतिशत, व्यापार समूहमा ०.५२ प्रतिशत, जलविद्युत समूहमा ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५८ प्रतिशत, अन्य समूहमा ०.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.०९ प्रतिशतको बढोत्तरी तथा लगानी समूह स्थिर रहेको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.३४ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.५ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.३९ प्रतिशत, वित्त समूहमा ०.३३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०६ प्रतिशत र लघुवित्त समूहमा ०.२५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता सेयर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ४ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ७ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ५ करोड ४५ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ४ करोड २७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ४ करोड ७ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३ करोड ३५ लाख रुपैयाँ, नेपाल लाइफ इस्योरेन्सको २ करोड ५४ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ४९ लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 
यो दिन सामलिंग पावर र विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।