काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। 

बजार आज ६.६८ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९७७.३० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनी कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले बढेर ३८३.७७ को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल बजार सोचेजति बढ्न नसक्नु र कारोबार पनि सुस्ताउनुले लगानीकर्तामा अझै मनोबल बढ्न नसकेको देखिएको बताउँछन्। ‘अहिले सहकारीहरुका कारण पनि बजारमा बिक्रीचाप परेको देखिन्छ’, उनले भने।

लगभग–लगभग बजारले बटम लगाएको रिजाल बताउँछन्। ‘केही ठूला लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बसेकोजस्तो पनि देखिन्छ’, उनले भने, ‘यी कारण कारोबार पनि बढ्न नसकेको हो।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने अर्थमन्त्री र गभर्नरबाट सकारात्मक खबर आए पनि लगानीकर्ताले तत्काल विश्वास गर्न नसकेको देखिएको बताउँछन्। ‘जबसम्म बैंकको ब्याज तल आउँदैन र सस्तो पैसामा सेयर किन्ने हुँदैन, त्यतिबेलासम्म बजार साइडवेजमै चल्नेजस्तो देखिन्छ’, उनले भने। 

बजारमा घर–जग्गामा देखिएको मन्दीको प्रभाव पनि परेको हुन सक्ने न्यौपाने बताउँछन्। ‘चाडपर्व पनि सुरु भएकोले बजार अझै केही समय साइडवेजमै चल्न सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन निर्जीवन बीमा समूह १.८५ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.५७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१२ प्रतिशत, व्यापार समूहमा ०.२५ प्रतिशत, जलविद्युत समूहमा ०.९५ प्रतिशत, वित्त समूहमा ०.६३ प्रतिशत, लघुवित्त समूहमा ०.४९ प्रतिशत, जीवन बीमा समूहमा ०.५ प्रतिशत र लगानी समूहमा ०.११ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक ०.८९ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.६२ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.१७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन रिडी पावरको सर्वाधिक ८ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड २५ लाख रुपैयाँ, एचआईडीसीएलको संस्थापक सेयरको २ करोड १३ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ४ लाख रुपैयाँ, अपर हेवाखोला जलविद्युतको २ करोड रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन रुरु जलविद्युतका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। आज हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज सपोर्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।