काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ।
बजार आज ९.६९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६०.९४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७२ अंकले घटेर ३६५.४२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ८० करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार वीरेन्द्र बिष्ट बजार अब धेरै तल नजाने बताउँछन्। ‘बजार घट्ने क्रम अब लगभग रोकिन्छ’, उनले भने, ‘चुनावअघि नै बजार २२०० को आसपास पुग्न सक्छ। किनकि चुनावपछि स्थायी सरकार बन्छ।’
तरलता पनि सुधार हुँदै गएकोले बजार फर्किने सम्भावना रहेको बिष्ट बताउँछन्। ‘आजको कारोबार पनि राम्रै मान्नुपर्छ’, उनले भने।
कर्जाको ब्याजदर बढे पनि निक्षेपको ब्याजदर नबढ्ने भएकोले बजार सकारात्मक नै हुने बिष्टको तर्क छ।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार घट्ने क्रम लगभग रोकिएको बताउँछन्। ‘तर, बजार बढ्नका लागि बलिया आधारहरु बनिसकेको छैन’, उनले भने, ‘लगानीकर्ता सकारात्मक खबरको प्रतीक्षामा छन्।’
अहिले चुनावी महौल तातेकोले सेयर बजार सुस्त भएको न्यौपानेको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.२८ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह पनि ०.२५ प्रतिशतले बढेको छ।
आज वित्त समूह सर्वाधिक १.७८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.७७ प्रतिशतले घट्दा व्यापार समूहमा १.३३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, जलविद्युत समूहमा १.१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा ०.८४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५२ प्रतिशत र लगानी समूहमा १.६८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका २५ लाख ७४ हजार ७८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा किनबेच भएका छन्।
आज एभरेस्ट बैंकको सर्वाधिक ८ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गरिमा विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको ३ करोड ३२ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ९९ लाख रुपैयाँ, रिडी पावरको २ करोड ७८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६८ लाख रुपैयाँ, हिमालयन पावर पाटर्नरको २ करोड ४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १ करोड ७० लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ६० लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन अभियान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा झन्डै १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
आज पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago