काठमाण्डौ । चौथो सार्क मुख्य सचिवस्तरीय बैठक यही जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । 

गत वर्ष पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न तेस्रो सार्क मुख्यसचिवस्तरीय बैठकमा नेपालले जनाएको प्रतिबद्धताअनुसार यही जेठ २७ र २८ गते सो बैठक हुन लागेको हो । 

बैठकको उद्घाटन सत्रमा सार्क राष्ट्रका मुख्यसचिव÷मन्त्रिपरिषद् सचिव, सार्क सदस्य राष्ट्र तथा पर्यवेक्षक राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्व मुख्यसचिवलगायतको सहभागिता रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

बैठकमा सदस्य राष्ट्रहरूको सार्वजनिक प्रशासन र सेवा प्रवाहका क्षेत्रमा भएको असल अभ्यासको आदानप्रदानका साथै सार्वजनिक प्रशासनका नवीन आयामका बारेमा छलफल हुने राससले जनाएको छ ।