काठमाण्डौ । पाकिस्तानको राजधानी इस्लामावादमा आगामी नोभेम्बर ९ र १० मा हुन लागेको सार्कको १९ औं सम्मेलन नहुने लगभग निश्चित भएको छ । 

मंगलबार भारतले औपचारिक रुपमै सार्कको इतिहासमै पहिलोपटक सम्मेलन बहिस्कारको घोषणा गरेको भोलिपल्ट बुधबार बंगलादेशले पनि बहिस्कारको निर्णय गरेको छ ।

बंगलादेशी प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकवाल शोभन चौधरी बंगाली सेवासँग कुरा गर्दै पाकिस्तानमा हुने सार्क सम्मेलनमा आफ्नो देशको सहभागिता नहुने स्पष्ट पारेका हुन् । 

उनले भनेका छन् कि बंगलादेश केही घरेलु कारणले पाकिस्तानमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता जनाउन असमर्थ हुनेछ । 

यसअघि भारतले मंगलबार सार्क सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मंगलबार एक ट्वीट गर्दै भनेका थिए-'क्षेत्रीय सहयोगको सवाल र आतंकवाद एकसाथ चल्नै सक्दैन । यसकारण भारत इस्लामावादमा हुने भनिएको सम्मेलनमा सहभागी हुने छैन ।' 

मिडियाहरुमा बताइए अनुसार भारतले यो बिषयमा सार्क संगठनको वर्तमान अध्यक्ष नेपाललाई जानकारी समेत गराइसकेको बताइएको छ । मिडियाहरुका अनुसार भारतले नेपाललाई भनेको छ कि एक सदस्य राष्टले यस्तो माहौल बनाइदियो कि जुन शिखर बैठकका लागि उपयुक्त छैन । 

सार्क शिखर सम्मेलन दक्षिण एशियाका आठ देशका राष्टाध्यक्ष सहभागी हुने बैठक हो । यस्तो सम्मेलन प्रत्येक २ वर्षमा हुन्छ । अठारौं सार्क सम्मेलनमा नेपालमा भएको थियो । १९ औं सम्मेलन आयोजना गर्ने पालो पाकिस्तानको थियो । 

भारत प्रशासित कश्मिरको उडीमा केही अघि भएको आतंकवादी हमलामा १८ भारतीय सैनिकको मृत्यु भएको थियो । सो घटनामा पाकिस्तानको संलग्नता रहेको भारतीय पक्षको दाबी छ । यही कारण भारत र पाकिस्तानबीच पछिल्लो समय तनाव समेत बढ्दो छ । 

भारत, बंगलादेश र भूटानले सार्क सम्मेलनमा सहभागिता नजाउने बिषयलाई भारतले आतंकवादको प्रवद्र्धक आरोपित पाकिस्तानलाई घेर्ने योजना सफल बन्दै गएको दाबी गरेको छ । स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइए अनुसार सार्क सदस्य राष्ट्र अफगानिस्तानले समेत सम्मेलनमा सहभागिता नजनाउने स्पष्ट संकेत दिइसकेको छ । अफगानिस्तानले भन्दै आएको छ कि जुन देशले सार्क राष्ट्रबीचको एकता र शान्तिलाई बर्बाद गरिरहेको छ, त्यस्तो देशलाई सार्क सदस्यबाटै निलम्बित गर्नुपर्छ । 

यसअघि २४ सेप्टेम्बरमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सम्मेलनको तयारी भइरहेको र यसमा सबै सदस्य राष्ट्रको सहभागिता रहने आफूले आशा गरेको बताएका थिए । सरिफले यस्तो भनाई त्यसबेला सार्वजनिक गरेका थिए, जतिबेला केही सदस्य राष्ट्रले यो सम्मेलन बहिस्कारको संकेत गरेका थिए । 

के हो सार्क ?
सार्क आर्थिक र राजनीतिक संगठन हो । दक्षिण एशियाका ८ देशका आर्थिक र राजनीतिक संगठन हो सार्क । यसको सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको थियो । सुरुवातमा भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र भूटान सार्कका सदस्य राष्ट्र थिए । तर २००७ अप्रीलमा भएको सार्कको १४ औं शिखर सम्मेलनबाट अफगानिस्तानलाई पनि सार्क सदस्य राष्ट्रको रुपमा नियुक्त गरिएको थियो । 

सार्कले मुख्य रुपमा सदस्य राष्ट्रबीच अन्तराष्ट्रिय प्लेटफर्ममा साझा हितको सवालमा सहयोगका लागि एकीतृत पार्दै आएको छ । दक्षिण एशियाली देशबीच आर्थिक सहायता बढाउने र यो क्षेत्रको आर्थिक विकासलाई पनि तीव्र पार्ने उद्देश्यले समेत यो संगठन स्थापना गरिएको थियो ।